चितवन– चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगत र आन्द्राको ट्युमर क्यान्सरको उपचार गराइरहेका बिरामीहरुको वार्षिक भेला सम्पन्न भएको छ।
अमेरिकाको म्याक्स फाउन्डेसन र अस्पतालको मेडिकल अंकोलोजी विभागले भेलाको संयुक्त आयोजना गरेका हुन्। म्याक्स फाउन्डेसनले क्रोनिक माइलोइन ल्युकेमिया अर्थात रक्त क्यान्सर (सिएमएल) र ग्याष्ट्रोइन्टेसटाइनल स्ट्रोमल ट्युमर अर्थात आन्द्राको ट्युमर क्यान्सर (जिष्ट)का बिरामीको औषधि उपचारमा आर्थिक सहयोग गर्दै आइरहेको छ।
फाउन्डेसनले सन् २०१८ मा यी दुई रोगका बिरामीको औषधि उपचारका लागि एक अर्ब ३६ करोड ४७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो। फाउन्डेसनको सहयोग रकमबाट नै यी दुई रोगका बिरामीले अस्पतालमा निःशुल्क उपचार पाउँदै आइरहेका छन्।
निःशुल्क उपचार सेवा लिएका बिरामीको अवस्थाका बारेमा जानकारी लिन अस्पतालमा हरेक वर्ष भेला हुँदै आएको छ। सन् २००४बाट सुरु भएको यो कार्यक्रमबाट हालसम्म एक हजार २२ जनाले निशुल्क उपचार सेवा पाएका छन्। तीमध्ये रक्त क्यान्सरतर्फ ९ सय १५ र आन्द्राको क्यान्सर तर्फ १ सय ७ जनाले उपचार सेवा लिएका छन्। उपचार सेवा लिएकामध्ये ६ सय ३० जना जीवित छन्।
सोमबारको कार्यक्रममा उपचार सेवा लिएका २ सय ५० भन्दा बढी बिरामीको सहभागिता रहेको थियो। अस्पतालका निर्देशक डा बिजय आचार्यको प्रमुख आतिथ्य र फाउन्डेसनको दक्षिण एसियाली क्षेत्रिय प्रमुख भिजी बैंकटेसको विशेष आतिथ्यमा भएको कार्यक्रममा २० वर्षदेखि उपचाररत बिरामीलाई सम्मान समेत गरिएको छ।
२० वर्षदेखि उपचारमा रहेका विष्णु पौडेल नाम गरेका बिरामीलाई उक्त भेलामा सम्मान गरिएको अस्पतालमा कार्यरत कृष्णहरी शर्माले जानकारी दिए।
