धनगढी– सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा यस वर्ष पनि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ। सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लामध्ये कैलाली र कञ्चनपुरमा यस वर्ष पनि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस वर्ष हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानको स्वरुप भने परिवर्तन गरिएको छ। ‘विगतमा स्वयंसेविकाबाट तीन दिनसम्म औषधि खुवाउने अभियान सञ्चालन हुने गरेको थियो,’ प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले भने, ‘यस वर्ष नया“ स्वरुपमा अभियान सञ्चालन गरिने छ। यस वर्ष स्वास्थ्यकर्मीबाटै औषधि खुवाइने छ।
स्वास्थ्य निर्देशनालयका अनुसार यस वर्ष स्थानीय तहबाट अभियान सञ्चालन गरिने छ। फागुन १५ गतेदेखि सञ्चालन हुने अभियान स्थानीय तहले १५ दिनसम्म सञ्चालन गर्नेछन्।
‘विगतमा थोरै समय सञ्चालन हुने भएकाले औषधि सबै व्यक्तिले खाएको देखिएन,’ प्रदेश स्वास्थ्य निर्देशक डा अवस्थीले भने, ‘समयावधि पनि थप गरेका छौं। १५ गते सबै स्थानीय तहले अभियानको शुभारम्भ गर्ने छन् र सबैले औषधि सेवन नगरेसम्म सञ्चालन गर्नेछन्।’
हात्तीपाइले रोग विरुद्धको औषधि वर्षको एक पटक गरी चारदेखि ६ वर्षसम्म खुवाउनुपर्ने हुन्छ। सुदूरपश्चिम प्रदेशले यस वर्ष दुई जिल्लामा अभियानलाई निरन्तरता दिएको छ। अन्य सात जिल्लामा भने यस वर्ष अभियान सञ्चालन नहुने निर्देशनालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आम औषधि सेवन कार्यक्रम प्रभावकारी नभएको एक सर्वेक्षणले देखाएको बताए।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा सरकारले सन् २०१३ देखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको थियो। औषधि खुवाउने कार्यक्रम पा“चौ चरण पूरा गरी छैठौं चरणमा प्रवेश गरिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा कार्यक्रमको उपलब्धि निराशाजनक देखिएको निर्देशनालयले जनाएको छ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य सेवा विभागको टोलीले कात्तिकको तेस्रो साता सुदूरपश्चिम प्रदेशको ९ वटै जिल्लामा रगत परीक्षण गर्दा कैलाली र कञ्चनपुरमा हात्तीपाइले रोगको संक्रमण दर दुई प्रतिशतभन्दा बढी देखिएको थियो भने प्रदेशको डडेल्धुरा, अछाम, डोटी, बझाङ, बाजुरा, दार्चुला र बैतडीमा हात्तीपाइलेको संक्रमण दर दुई प्रतिशतभन्दा कम देखिएको थियो।
कैलालीमा सन् २००१ को तुलनामा संक्रमण दर बृद्धि भएको देखिएको थियो। सन् २००१ मा कैलालीमा ६ प्रतिशत संक्रमण दर रहेकोमा सो समयमा गरिएको अध्ययन अनुसार ६ दशमलब ३३ प्रतिशत रहेको छ।
कैलालीको घोडाघोडी नगरपालिका– १०, ११ र १२ र लम्की नगरपालिका– ६, ८ र १० का ६ सय जनाको रक्त परीक्षण गर्दा ३८ जना अर्थात् ६ दशमलब ३३ प्रतिशतमा हात्तीपाइले पोजेटिभ देखिएको तथ्यांकमा उल्लेख छ।
परीक्षणले कञ्चनपुरमा सन् २००१ को तथ्यांकअनुसार हात्तीपाइलेको संक्रमण दर २० प्रतिशत थियो भने सो समयमा गरिएको सर्वेक्षणले संक्रमण दरमा सुधार भएको देखाएको छ। कञ्चनपुरमा अहिले दुई दशमलब आठ प्रतिशत संक्रमण दर रहेको छ।
सरकारले सन् २०२० सम्म हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्सा जिल्लाबाट सो रोग विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो।
सरकारले सन् २०१८ भित्र हात्तीपाइलेको संक्रमण दर एक प्रतिशतभन्दा कम गर्ने लक्ष्यसहित विविध कार्यक्रम गरिरहेको छ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले हात्तीपाइले विरुद्धको औषधिबारे विभिन्न खालका गलत प्रचार गरिएका कारण पनि औषधि सेवन कार्यक्रम अपेक्षा गरेअनुरूप उपलब्धीमूलक हुन नसकेको बताए।
उनले भने, ‘हात्तीपाइले रोग विरुद्धको औषधि खा“दा मान्छेको मृत्युसम्म भएको, धेरै मान्छे बिरामी परेको जस्ता गलत प्रचारका कारण औषधि लिने, तर नखाने समस्याले पनि औषधि सेवन कार्यक्रम प्रभावकारी हुन सकेको छैन।’
हात्तीपाइले विरुद्धको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी आमा, सिकिस्त बिरामी (जसले दैनिक क्रियाकलाप गर्न सक्दैनन्, ओछ्यानमा परेका, कडा रोग जस्तैः क्यान्सर, मुटु रोगी, कलेजो रोगी, मिर्गाैला रोगी, फोक्सोको दीर्घ रोगी, मिर्गी (छारे रोग) का रोगी, २४ घन्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका पा“च वर्ष मुनिका बालवालिका) ले सेवन गर्न नहुने स्वास्थ्यकर्मीहरुले जनाएका छन्।