रुपन्देही– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सिटी स्क्यान सेवाको सुरुवात भएको छ। प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सिटी स्क्यान सेवाको उद्घाटन गरे।
गुल्मी धुर्काेटका तेजप्रसाद पराजुलीले सिटी स्क्यानबाट पहिलो सेवा लिएका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले अस्पतालको सुधारको लागि प्रारम्भिक काम अगाडि बढेको बताए। उनले अस्पतालको स्तरोन्नती तथा विकास गर्ने जिम्मेवारी प्रदेश सरकारको भएको बताउँदै आम जनतालाई सर्वशुलभ र गुणस्तरीय सेवा दिने जिम्मेवारी अस्पतालको भएको बताए।
मन्त्री बरालले अस्पताललाई रेफरल सेन्टरको रुपमा विकास गरिने समेत बताए। बुटवलमा रहेको सबै प्रकारको उपचार गर्न सकिने गरी अस्पतालको विकास गर्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको उनको भनाइ छ।
अस्पतालको वृद्वि विकासका लागि प्रदेश सरकारले अहिले साढे ७ करोड बजेट विनियोजन गरेको जानकारी गराउँदै ठूलो बजेट आवश्यक परेमा संघीय सरकारबाट ल्याउने आश्वासन दिए।
स्वास्थ्य क्षेत्रमा भएका नयाँनयाँ प्रविधिको विकामा सर्वसाधारण जनताको पहुँच पुर्याउनु पर्ने र त्यसका लागि आवश्यक पर्ने सबै सहयोग प्रदेश सरकारले गर्ने मन्त्री बरालले आश्वासन दिए।
उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीले अस्पताल विकासका लागि सुधारका कामहरू सुरु भएको बताए।
प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डन डाक्टर कृष्ण खनालले अस्पतालबाट वार्षिक ३ लाख १५ हजार मानिसलाई स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिए।