राजविराज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा राजविराजमा सञ्चालित वृहत स्वास्थ्य शिविरमा बिहीबार ४१ जनाको शल्यक्रिया गरिएको छ।
शिविरबाट १ हजार २ सय ८० जनाले स्वास्थ्य सेवा लिएका छन् ।
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र पवि मावी मैदान गरी दुई स्थानमा भएको शल्यक्रियामा अस्पतालतर्फ १९ र पवि मावीतर्फ २२ जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए।
फागुन १ गतेदेखि सुरु भएको शिविरमा पहिलो दिन ३९ जनाको शल्यक्रिया गरिएको थियो भने १ हजार १ सय ७३ जना बिरामीले सेवा लिएका थिए।
शिविरमा पित्त तथा मृगौलाको पत्थरी, पुरुष ग्रन्थीको उपचार, पायल्स तथा हर्निया, पाठेघरको शल्यक्रिया, नाक/कान/घाँटीको उपचार, मानसिक रोगको उपचार, इको (मुटुको भिडियो एक्सरे) तथा क्यान्सरको स्क्रिनिङलगायतका स्वास्थ्य सेवा प्रवाह भइरहेका छन्।
उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सेवाको उद्घाटन गरे।
शिविरमा नेपाली सेनासहित, वीर अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका १ सय २६ जना विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मी टोली परिचालित छन्।
सप्तरीलगायत प्रदेश–२ का सिरहा तथा प्रदेश–१ का सुनसरी र उदयपुरबासीलाई लक्षित गरी शिविरको सञ्चालन गरिएको हो ।