रुपन्देही– प्रदेश ५ मा ३ दिनसम्म विभिन्न कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाइँदैछ।
फागुन ३ गते प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी स्थापना दिवस मनाउने निणर्य प्रदेश सरकारले गरेको थियो।
स्थापना दिवसरका अवसरमा मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा राजमार्ग र सामाजिक विकास मन्त्री सुदर्शन बरालले दाङको लमहीबाट सरसफाइ कार्यक्रमको उद्घाटन गरे।
अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले राजमार्गलाई सफा बनाउने यो अभियान सरकारी कामकाजलाई असर नपर्ने गरी निरन्तर चलिरहने बताए।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बरालले स्वास्थ्य सबैभन्दा महत्वपूर्ण क्षेत्र भएको बताए। उनले भने,‘ हामीले आफनो घर वरिपरिको फोहरलाई व्यवस्थापन गर्ने हो भने हामी रोग लाग्नबाट बच्न सक्छौँ।’
मन्त्री बरालले प्रदेशका सबै स्वास्थ्य क्षेत्रको विकासको लागि आफूले नयाँ योजनाका साथ नीति नियम र बजेट विनियोजन गरेको बताए।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रदेश सरकारसँग मिलेर उपमहानगरपालिकालाई सुन्दर, सफा र हरीयाली बनाउने बताए प्रतिवद्धता जनाए।
अभियानमा जनप्रतिनिधि, संघ÷सस्थाका प्रतिनिधि, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीसहित स्थानीय सहभागि थिए।
अभियानमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले कोहलपुर, उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीले बर्दियाको भुरी गाउँ,भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले कपिलवस्तुको चन्दौटा, र भूमि व्यवस्था, कषि तथा सहकारीमन्त्री आरती पौडेलले नवलपरासीको बर्दघाटबाट राजमार्ग सरसफाइ अभियानको उद्घाटन गरेका थिए।