राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिका– ११, सिम्रहाका ४२ वर्षीय रामसुन्दर माझी विगत ६ वर्षदेखि पेट दुख्ने समस्याले हैरान थिए। पिसाब पोल्ने र दाहिने अन्डकोष सुन्निने थप समस्या सुरु भएपछि उनी गल्दै गए।
खेतीपाती र ज्याला–मजदुरी गरेर दुई छोराको पढाइ–लेखाइ तथा पत्नी चन्द्रकलासहित ४ जनाको परिवार पाल्दै आएका रामसुन्दर आफैं बिरामी परेपछि घर–व्यवहार बिग्रँदै गयो। खर्च र समय अभावका कारण उनले उपचार गराउने हिम्मत पनि गरेनन्। ‘आफैं ठिक होला भनेर पर्खेर बस्यौं, तर भएन,’ उनले भने, ‘छोराको पढाइ र घर चलाउनुपर्ने बाध्यताले बाहिर गएर उपचार गर्ने हिम्मत पनि भएन।’

तर, अहिले रामसुन्दरको समस्या सकिएको छ। नेपाली सेनाको सहयोगमा स्वास्थ्य मन्त्रालयले राजविराजमा आयोजना गरेको वृहत स्वास्थ्य शिविरमा उनले आफनो समस्या देखाए। शिविरमा रामसुन्दरलाई हर्नियाँ भएको पत्ता लाग्यो र शल्यक्रियामार्फत उनको उपचार गरियो। शल्यक्रियापछि उनी सगरमाथा अञ्चल अस्पतालमा उपचाररत छन्। आधा दशकसम्म बोकेर बसेको समस्या निःशुल्क समाधान भएपछि उनको मुहारमा खुसी देखियो।
राजविराज– ३ की ४० वर्षीया रामसती दास डेढ वर्षदेखि पेट दुख्ने समस्याले पीडित थिइन्। सहनै नसक्ने भएपछि १५ दिनअघि मात्रै उनलाई विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरियो। चेकजाँचका क्रममा पाठेघरमा समस्या भएको पत्ता लाग्यो, तर खर्च अभाव भएपछि उनलाई घरै फर्काइयो । ‘चेक जाँचमा मात्रै १० हजारभन्दा बढी खर्च भयो,’ छोरी निकिताले भनिन्, ‘खर्च खोजेर अप्रेसन गर्ने सल्लाह गरेर फर्काएर ल्यायौं।’

यस बीचमा राजविराजमा शिविर चल्ने जानकारीपछि उनीहरुले अस्पतालमा सम्पर्क गरे। चेकजाँचपछि शनिबार मात्रै उनको पाठेघरको शल्यक्रिया सम्पन्न भएको छ। ‘लाखौं खर्च हुने अनुमान गरेको काम निःशुल्क भयो,’ निकिताले भनिन्, ‘घरमै उपचार भएकाले थप समस्या र खर्चको तनाव पनि भएन।’
रामसेवक र रामसती मात्र होइन, राजविराजमा स्वास्थ्य शिविर सुरु भएपछि १ सय ९४ जनाको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ। शिविरमा पित्त तथा मिर्गौलाको पत्थरी, पुरुष ग्रन्थीको उपचार, पायल्स तथा हर्निया, पाठेघरको शल्यक्रिया, नाक–कान–घाँटीको उपचार, मानसिक रोगको उपचार, इको (मुटुको भिडियो एक्सरे) तथा क्यान्सरको स्क्रिनिङ लगायतका स्वास्थ्य सेवा प्रवाह भइरहेका छन्।
शिविरमा ५ हजार ९ सय २९ स्वास्थ्य सेवा लिइसकेको सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए।
प्रत्येक दिन बिरामीको संख्या थपिँदै गएको र शिविर अझै लम्बिनसक्ने उनले बताए। ‘हामीले ७ दिनमा सानाठूला गरी २ सय अप्रेसन गर्ने लक्ष्य राखेका थियौं,’ मेसु दासले भने, ‘यही अनुपातमा ४ सयभन्दा बढी हुन्छ।’ अन्तिम समयसम्म १५ हजार बढीले स्वास्थ्य सेवा लिने अनुमान गरिएको उनले बताए।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले फागुन १ गते सेवाको उद्घाटन गरेका थिए।
शिविरमा नेपाली सेनासहित, वीर अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका १ सय २६ जना विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मी टोली परिचालित छन्।
सप्तरीलगायत प्रदेश–२ का सिरहा तथा प्रदेश–१ का सुनसरी र उदयपुरबासीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो।