काठमाडौं– आयुर्वेद चिकित्सक संघले सरकारी चिकित्सक संघ (गोदान) को आन्दोलनमा ऐक्यवद्धता जनाएको छ।
संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन आफ्ना संघ अन्तर्गतका सदस्यहरुलाई आह्वान गरेका छन्।
सरकारी चिकित्सक संघ (गोदान) ले कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सोमबारदेखि शुक्रबारसम्म चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
‘कर्माचारी समायोजनलाई स्वेच्छिक बनाई सम्पूर्ण चिकित्सकलाई पुल दरबन्दीमा राखी संघ तथा प्रदेशका अस्पताल, स्वास्थ्य केन्द्रमा खटाउने र निश्चित अवधिमा संघमा आउन बाटो खुला राख्ने विषयमा संघ अडिग रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
यसअघि, आयुर्वेदको संरचना र समायोजनमा असहमति जनाउँदै उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री, स्वास्थ्य राज्यमन्त्री, स्वास्थ्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नेपाल आयुर्वेद चिकित्सक संघ, सिभिल आयुर्वेद चिकित्सक संघ तथा आयुर्वेद स्वास्थ्यकर्मी समाजले ध्यानाकर्षणपत्र बुझाइसकेका छन्।