काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पदाधिकारी नियुक्तीमा सरकारले ढिलाई गरेको विरोधमा न्याम्स कर्मचारी आन्दोलनमा उत्रेका छन्।
न्याम्सको उपकुलपतिसहित अन्य पदाधिकारीको नियुक्तीमा सत्तामा रहेका दुई दल नेकपा र संघीय समाजवादी फोरमबीच भागबन्डा नमिल्दा ६ महिनादेखि न्याम्समा पदाधिकारी नियुक्ती अन्यौलमा परेको छ। न्याम्सको उपकुलपतिमा न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री उपेन्द्र यादव निकटका डा डिएन साहलाई नियुक्त गरे पनि उनले अझैसम्म नियुक्ती पत्र पाएका छैनन्।
न्याम्सका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिलाई नियुक्त गरेका हुन्। तर, न्याम्सका अन्य पदाधिकारीहरु र वीर अस्पताल र ट्रमा सेन्टरको निर्देशकमा नेकपा निकट डाक्टरहरुलाई नियुक्त गर्नुपर्ने भएपछि भागबन्डा नमिल्दा पदाधिकारी नियुक्ती अन्योलमा परेको कर्मचारीहरुले बताएका छन्।
पदाधिकारी नियुक्त नहुँदा काममा समस्या परेको भन्दै प्रतिष्ठान कर्मचारी युनियनको अगुवाईमा वीर अस्पताल परिसरमा आन्दोलन हुँदै आएको छ।
न्याम्सका कर्मचारीले वीर अस्पताल परिसरमा ‘न्याम्स पदाधिकारी नियुक्तीको फन्डा, मिल्न सकेन भागवन्डा’, 'सबै पदाधिकारी निमित्तै निमित्त, यो गञ्जागोल के का निमित्त’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरीरहेका छन्।



