काठमाडौं- सरकारले सरु गरेको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सरकारी डाक्टरहरु आन्दोलित भएका छन्। उनीहरुले सेवाबहिस्कार देखि सामुहिक राजिनामा दिने चेतावनी समेत दिएका छन्।
तर, यता सरकारले आजदेखि नै एघारौं तहका कर्मचारीहरुलाई समायोजन पत्र दिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यसेवाका एघारौं तहका कर्मचारीसहितका सहसचिवलाई समायोजन पत्र उपलब्ध गराउने भएको हो।
सरकारले ६६२ सहसचिवको समायोजन गर्ने निर्णय लिएको थियो । तीमध्ये स्वास्थ्य सेवा अन्तर्गतका १ सय ५० जना कर्मचारी रहेका छन्।
सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
घोषित कार्यक्रममा सो विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग एक पटक आग्रह गर्ने र त्यसो नभए आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरी देशभर अवज्ञा आन्दोलन सुरु गर्ने निर्णय गरिएको संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले जानकारी दिए।
प्रतिनिधिसभाबाट सो विधेयक आफूहरुको मागलाई सम्बोधन नगरी पारित भएको आज देशभरका चिकित्सकहरुले सो विधेयक सच्याउन सरकारलाई दबाब दिँदै स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गर्नेछन्। मंगलबार माइतीघर मण्डलामा आफूहरुको आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको पनि अध्यक्ष पाण्डेले बताए।
बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात् सरकारलाई बुझाउन काठमाडौं भेला हुने तथा त्यसो गर्दा पनि आफूहरुको माग सरकारले सम्बोधन नगरे सबै अस्पतालको सेवा बहिष्कार गरी 'अवज्ञा आन्दोलन' सुरु गर्ने सरकारी चिकित्सकहरुले सरकारलाई चेतावनी दिएका छन्।