फाइल तस्बिर
राजविराज- नेपाली सेनाको सहयोगमा स्वाथ्य मन्त्रालयद्वारा राजविराजमा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका लागि आएका एक व्यक्तिको आज बिहान मृत्यु भएको छ।
कञ्चनरुप नगरपालिका-६, धरमपुरका करीब ६५ वर्षिय गंगा मोचीको मृत्यु भएको हो। मुटु तथा उच्चरक्तचापको रोगी रहका मोची शिविरको अस्थायी शौचालयमा मृत अवस्थामा फेला परेका हुन्। उनलाई हृदयघात भएको हुनसक्ने प्रहरीको अनुमान छ।
पत्नि धनेश्वरी र छोरीसहित उनी उपचारका लागि सोमबार राजविराज आएका थिए। नाम दर्ता गराउन नसकेपछि उनी शिविर सञ्चालित पवि माविको कम्पाउन्डमै बसेका थिए। बिहान करीब ५ बजे शौचालय गएका मोची लामो समयसम्म नफर्किएपछि हेर्न जाँदा मृत अवस्थामा फेला परेको पत्नी धनेश्वरीले बताइन्।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर गुरु तिमल्सीनाले जानकारी दिए।
शिविरमा सोमबार साँझसम्म ४ सय जनाको शल्यक्रिया र ९ हजार २ सय ९३ जनाले स्वास्थ्य उपचार भइसकेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेसु चुमनलाल दासले जानकारी दिए।