राजविराज– नेपाली सेनाको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा राजविराजमा सञ्चालित ११ दिने वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा २ सय ९५ जनाको शल्यक्रिया गरिएको छ।
शल्यक्रिया गर्नेमध्ये सबैभन्दा बढी हर्नियाका ८५, पित्तथैलीका ५४ र हाईड्रोसिलका १० जना रहेका छन्। शिविरमा ६ हजार ३ सय ६८ पुरुष र ८ हजार ७ सय ६६ महिला गरी १५ हजार १ सय ३४ जनाले ३१ हजार ३ सय ७४ प्रकारका स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा पित्त तथा मिर्गौलाको पत्थरी, पुरुष ग्रन्थीको उपचार, पायल्स तथा हर्निया, पाठेघरको शल्यक्रिया, नाक÷कान÷घाँटीको उपचार, मानसिक रोगको उपचार, इको (मुटुको भिडियो एक्सरे) तथा क्यान्सरको स्क्रिनिङ लगायतका स्वास्थ्य सेवा प्रदान गरिएको नेपाल आर्मी मेडिकल कलेजका सहायक रथी डा राजिबराज शाहीले जानकारी दिए।
शिविरमा नेपाली सेनासहित, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका १ सय २६ जना विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मी टोली परिचालित थिए।
शिविरमा अपेक्षाभन्दा वढि स्वास्थ्य सेवा प्रदान गरिएको साहिले वताए। ‘हामीले ११ दिनमा ७ हजारदेखि ७ हजार ५ सयसम्म विरामी हेर्ने अपेक्षा गरेका थियौं’ उनले भने–‘तर, बिरामीको चाप र उनीहरुको अवस्था हेर्दा संख्याभन्दा पनि सेवा प्राथमिक्तामा पर्यो।’ स्वास्थ्यकर्मीको टोलीले राती ८र९ बजेसम्म बसेर बिरामीको सेवा गरेको उनले बताए।