कालिकोट– जिल्लाको पचालझरना गाँउपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार गर्न सबै वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार तथा परामर्श सिप विकास तालिम दिइएको छ।
नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखा अन्तर्गत स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजनाको सहकार्यमा गाँउपालिकामाका तीन वटा स्वास्थ्य संस्थाका २६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई तीन चरणमा तालिम प्रदान गरिएको थियो।
स्वास्थ्य क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि ज्ञान, सिप र धारणा अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको रेडक्रस कालिकोटका कार्यक्रम अधिकृत टेकम वलीले बताए।
पचालझरना गाँउपालिकामा रहेका राम्नाकोट, बदालकोट, नानीकोट स्वास्थ्य चौकीको आयोजना तथा पचालझरना गाँउपालिका कार्यालयको समन्वयमा सिप विकास तालिम सम्पन गरिएको थियो।
तालिममा सञ्चारको अर्थ र महत्व बुझाइनुका साथै प्रभावकारी सञ्चारको कमीका कारण महिला स्वास्थ्य स्वयमसेविकाले भोग्नुपरेका समस्या पहिचान गर्न सिकाइएको गाँउपालिका आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख चन्द्रेश्वर शाहले जानकारी दिए।