नवलपरासी- पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा पछिल्लो पटक सेवा प्रवाहमा सुधार आएपछि बिरामी लाभान्वित बनेका छन्। स्वास्थ्यकर्मीको सधैँ अभाव हुने यस अस्पतालबाट अहिले स्वास्थ्यकर्मी बस्ने क्रम बढेसँगै सेवामा सुधार आउन थालेको हो।
सधैँ चिकित्सक अभाव हुने पृथ्वीचन्द्र अस्पतालमा अहिले तीनजना विशेषज्ञ चिकित्सक छन्। ५० शय्या र ५२ जना कर्मचारीको दरबन्दी रहेको यस अस्पतालमा ३१ जना स्वास्थ्यकर्मी कार्यरत छन्।
अहिले विशेषज्ञ चिकित्सक आएपछि प्रसूतिसँगै उपचार सेवामा सुधार आउन थालेकाले बिरामीको चाप पनि क्रमशः बढ्न थालेको अस्पतालले जनाएको छ।
पछिल्लो पटक प्रसूति सेवा समेत विस्तार भएपछि जिल्ला अस्पतालमा आएर प्रसूति सेवा लिने महिलाको सङ्ख्या बढेको देखिन्छ। अहिले मासिक करीब १४० जनाको प्रसूति हुने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अनन्त शर्माले जानकारी दिए।
गत भदौमा शल्यक्रियासहितको प्रसूति सेवा विस्तार गरेपछि अहिले छ महीनाको अवधिमा १३० जनाको शल्यक्रियाबाट मात्रै प्रसूति सेवा प्रदान गरिएको उनले बताए। त्यसअघि सामान्य प्रसूति सेवा मात्र उपलब्ध थियो। अस्पतालका अनुसार गत आर्थिक वर्षमा ८८० जनाले प्रसूति सेवा लिएकामा अहिले चालु आवको छ महीनामै ८५७ जनाले प्रसूति सेवा लिएका छन्। रासस