रुपन्देही– प्रदेश ५ को लुम्बिनी आयुर्वेद चिकित्शालयमा २ महिनादेखि औषधि अभाव भएको छ।
दैनिक ५० देखि ७० जना बिरामी उपचारका लागि आए पनि औषधि अभावको कारण बिरामी घटदै गएको औषधलायले जनाएको छ।
‘अस्पतालबाट २३ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भनिएको छ। तर, हाल एउटा पनि औषधि छैन,’ अस्पतालका प्रमुख डा नलिननाथ तिवारीले भने।
विगतमा स्वास्थ्य मन्त्रालयबाट आउने औषधि यसवर्ष भने स्थानीय तहबाट नै निकै कम आएको उनले बताए। गतवर्ष संघीय सरकारले २० लाख भन्दा औषधि पठाउने भए पनि यसवर्ष ३ लाखको औषधि पठाएको बताए।
पटक पटक प्रदेशको सामाजिक विकास मन्त्रालयमा औषधिको माग गरिए पनि मन्त्रालयले बेवास्ता गरेको उनको गुनासो थियो। उनले अस्पतालमा नयाँ संरचनअनुसारको बोड फेर्नसमेत बजेट नभएको बताए।
विसं २०४१ सालमा बनेको भवनमा ओपिडी सेवा मात्रै सञ्चालनमा रहेको यस अस्पतालमा भवनकोसमेत अभाव रहेको छ। ‘औषधि अभाव छ, तर पनि अरु दैनिक दिइने सेवा भने सञ्चालन गरेका छौँ,’ अस्पतालका योग तथा पञ्चकर्म संयोजक विष्णुहरि आर्चायले भने।
प्रदेशका औषधालय र ८ जिल्लाका आयुर्वेद स्वास्थ्य केन्द्रलाई मन्त्रालयले ४९ लाख बजेट बिनियोजन गरेको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरी बताउँछन्। उनले भने, ‘औषधिको लागि खरिद ऐन अन्तर्गत टेन्डर गरेर पठाउने गरेका छौं।’