बागलुङ– गत वर्ष बागलुङ जिल्लामा हात्तीपाइले रोग निवारणको अन्तिम अभियान भनेर औषधि खुवाइयो। तत्कालीन जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभर अभियान चलायो। तर, उक्त अभियानपछि बागलुङमा हात्तीपाइले निवारण हुन सकेन।
अभियानपछि बागलुङ नगरपालिका–१४, नारायणस्थान र बडिगाड गाउँपालिकाको ग्वालिचौरमा नमुना परीक्षण गर्दा नारायणस्थानका १४ जनामा हात्तीपाइलेको परजीवी फेला प¥यो। तर, पश्चिम ग्वालीचौरमा भने भेटिएन।
नारायणस्थानमा मात्र परजिवी देखिए पनि विश्व स्वास्थ्य संगठनको नियमअनुसार जिल्लाभर नै पुनः औषधि खुवाउने अभियान सञ्चालन गर्नुपर्यो। हालसम्म जिल्लामा नवौंं पटक हात्तिपाइले रोग निवारणको लागि औषधि खुवाइसकिएको छ। पुनः अहिले १०औं अभियान सञ्चालन गरिएको छ।
बागलुङमा बुधवारदेखि अभियान सञ्चालन गरिएको हो। ‘पहिले जस्तो यति दिन भन्ने छैन, सबै ठाउँमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने छौ,’ वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले भने, ‘फागुन १५ देखि अभियान सञ्चालन भएको छ। जनसंख्या र भूगोलअनुसार दिन लम्बिन सक्छ, तर सबै ठाउँमा लक्ष्य तय गरेका छौं, नाम ठेगाना उल्लेख गरेरै औषधि खुवाएर अभियानलाई प्रभावकारी बनाउन लाग्नेछौं।’
बागलुङ नगरपालिकाले हात्तीपाइलेको जिवाणु भएको नारायणस्थानलाई विशेष क्षेत्र बनाएर अभियान अघि बढाइने बताएको छ। ‘नारायणस्थानमा विशेष अभियान सञ्चालन गर्छौैं’ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले भने, ‘हात्तीपाइले देखिएकालाई विशेष रुपमा र अन्यलाई पनि स्वास्थ्य र सरसफाइमा विशेष सजगता अपनाउन भूमिका खेल्नेछौं।’
सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने मुख्य लक्ष्य सहित जिल्लाका २ लाख ५२ हजारलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने छ। जिल्लामा यो अभियानका लागि करिब ४ सय स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
अभियानमा दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला तथा ७ दिन भित्रकी सुत्केरी, दीर्घरोगी र सिकिस्त बिरामीबाहेक सबैले उमेर समूहअनुसार डिइसी चक्की र जुकाको औषधि खानुपर्ने छ।