काठमाडौं– उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले यौन तथा प्रजनन् अधिकार ऐनको सफल कार्यान्वयनमा सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका छन्।
यौन तथा प्रजनन् स्वास्थ्यमा महिलाको स्वयंको निर्णय हुनुपर्छ भन्ने मर्म बोेकेको विश्वव्यापी अभियान ‘सी डिसाइडस्’ आज काठमाडौंमा सुभारम्भ गर्दै उपप्रधानमन्त्री यादवले सविधानले समेत सुनिश्चित गरेको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई स्थापित गर्न चुनौती भएकाले सबैले भूमिका खेल्नुपर्ने बताए।
नेपालका महिलाले विभिन्न परिवर्तनमा नेतृत्वदायी खेल्दै आएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘ सबै महिलाको आफ्नो यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा उनकै मात्र हक छ भन्ने कुरालाई कार्यान्वयनमा ल्याउने प्रक्रिया सुरु भइसकेको छ।’
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युनएफपीए) का क्षेत्रीय प्रमुख वियोन्ड एन्डरसनले सन् १९९४ मा कायरोमा भएको जनसंख्या तथा विकासका लागि अन्तर्राष्ट्रिय सम्मलेनमा उठेको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको विषय विकासको कोसेढुङ्गा भएको बताए।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि परिवार नियोजन र प्रजनन क्षेत्रमा गर्ने सहयोग बजेट कटौती गरे। त्यसपछि ‘ग्लोबल ग्याप रुल’ को प्रत्युत्तरमा युरोपियन देशहरूको सहयोगमा सन् २०१७ मा सी डिसाइड्सको स्थापना गरिएको थियो।

‘सी डिसाइडस्’ अभियानले महिलाको मानवअधिकारका लागि महिलाको शरीरमा उनकै निर्णय हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गरेको छ।
‘सी डिसाइड्स’ अभियान सुरु भएको दोस्रो वर्षको अवसरमा नेपालमा यो कार्यक्रम सुरु गरिएको हो।
‘सी डिसाइडस्’का रणनीतिक सल्लाहकार रोविन गोर्नाले सन् १९९४ इजिप्टको कायरोमा जनसंख्या तथा विकासका लागि अन्र्तर्राष्ट्रिय सम्मलेन भएको २५ पूरा भएको अवसरमा एसिया प्यासेफिकका २५ वर्षका २५ जना युवायुवती नेपाल आएको बताइन्।
उनले भनिन्, ‘ती अभियन्ताहरुले यौन तथा प्रजनन् अधिकारका लागि कसरी निर्णय लिने, कसरी अगाडि बढ्ने भन्ने अनुभव साटासाट गर्नेछन् र आगामी २५ वर्षका केके काम गर्ने भन्ने दुष्टिकोण प्रस्तुत गर्नेछन्।’
‘सी डिसाइडस्’ अध्यक्ष टिखाला इट्येले आफ्नो शरीरबारे महिला आफैंले निर्णय गर्ने उनका अधिकार हो भन्ने कुरा अझै व्यापक बनाउन सबै तह र तप्कालाई जिम्मेवारी निभाउन आग्रह गरिन्।
‘सी डिसाइड्स’ की सिवानान्थी थानेन्थिरनले नेपालले महिलाका यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई उच्च महत्व दिएको उल्लेख गर्दै त्यसको कार्यान्वयन अझ महत्वपूर्ण भएको बताइन्।