काठमाडौं- पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था आशा मार्नुपर्ने अवस्थामा पुगेको उनको उपचारमा खटिएका चिकित्सकले बताएका छन्।
काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका अधिकारीको अवस्था आशा मार्नु पर्ने अवस्थामा पुगेको उनको उपचारमा खटिएका चिकित्सक डा गोपाल श्रेष्ठले जानकारी दिएका छन्।
'हामी पनि आशावादी हुन सकेका छैनौं। जुनसुकै बेला जे पनि हुन सक्छ,' अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डा श्रेष्ठले भने।
अधिकारीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र सभामुख कृष्णबहादुर महरालगायत अस्पताल पुगेका छन्।
लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटक-पटक दोहोरिएको थियो।
पुस २३ देखि अस्वस्थ भएर सुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरी अधिकारीलाई उपचार गरिएको थियो।
त्यसपछि फेरी उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो।