काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा पर्याप्त मात्रामा उत्पादन भएका गुणस्तरीय औषधिको विकास र विस्तारमा सरकारले काम अगाडि बढाएको बताएका छन्।
नेपाल फर्मा तथा हेल्थ एक्स्पोको अवसरमा चितवनमा आयोजित कार्यक्रममा मन्त्री यादवले नेपालमा धेरै मात्रामा उत्पादन भइरहेका औषधिको कच्चा पदार्थ मात्र विदेशबाट आयात गरिने बताए।
'गुणस्तरमा कुनै कम्प्रमाइज हुँदैन। त्यसकारण नेपालमा पर्याप्त मात्रामा उत्पादन भइरहेका गुणस्तरीय औषधिहरु अब विदेशबाट आयात गर्न रोक लगाउने छौं,' उनले भने, 'उस्तै प्रकारका औषधि नेपालमा नै उत्पादन हुने भएकाले नेपाली उद्योगलाई नै प्राथमिकतामा राख्नुपर्छ।'
उनले केही हप्ताअघि यो विषयमा औषधि परामर्श समितिले निर्णय समेत गरेको जानकारी दिए। उनले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने तर्फ सरकारले काम अगाडि बढाएको पनि जानकारी दिए।
बंगलादेशले पनि सुरुमा आत्मनिर्भरता तर्फ अगाडि बढ्दा समस्या भोगेको थियो, उनले भने, यहाँ पनि केही समस्या आउन सक्छ। तर हामी ती समस्यालाई चिर्दै अगाडि बढ्नेछौं।
उनले आयात रोक्ने विषयमा केही समय दिएर काम अगाडि बढ्ने बताए।
'नेपालमा अहिले औषधिको बजार हेर्दा झण्डै ६० प्रतिशत औषधि आयात गर्नुपर्ने अवस्था छ,' उनले भने, 'तर अब हामीले आयातमा कडाई गर्दै जाँदा यो अवस्था बढ्दै नेपाल आत्मनिर्भरतर्फ अगाडि बढ्छ।' उनले कच्चापदार्थ पनि नेपालमा नै उत्पादन गर्दै जान पनि नेपाली उत्पादकसँग आग्रह गरे।
कार्यक्रममा नेपाल औषधि उत्पादक संघका अध्यक्ष दिपकप्रसाद दाहालले नेपाली औषधिको गुणस्तरमा कुनै शंका गर्नुनपर्ने बताए। उनले विश्वका जुनसुकै देशसँग नेपाली औषधिले प्रतिस्पर्धा गर्नसक्ने जानकारी दिए।
नेपाल हाल करिब एक सय प्रकारका औषधिमा आत्मनिर्भर भइसकेको नेपाली उत्पादकको दावी छ। नेपालमा हाल ५२ कम्पनीले औषधि उत्पादन गर्दै आइरहेका छन्।
कार्यक्रमका अवसरमा मरोणप्रान्त अंगदान अभियानको समेत सुरुवात गरिएको छ। मस्तिष्क मृत्युपछि आठ जनाले नयाँ जीवन पाउने भएकाले ब्रेनडेथ भएकाले अंगादन गर्नसक्ने अभियानको पनि सुरुवात गरिएको हो।
फर्मा एक्स्पोमा यो पटक अंगादन कार्यक्रमलाई विस्तार गर्ने लक्ष्यसहित अंगादन अभियान कार्यक्रम पनि समावेश गरीएको छ। एक्सपोमा करिब एक हजार जनाले अंगदानको फर्म भर्ने अनुमान गरिएको छ।