काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) ले आफ्ना आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा संघका प्रतिनिधिहरु सहित आज भएको वार्तापछि गोदानले आन्दोलन स्थगन गरेको हो।
प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहितको वार्तामा प्रधानमन्त्रीले संघका माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगन गरिएको गोदानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
‘प्रधानमन्त्रीबाट आएको ठोस प्रतिवद्धता कार्यान्वयन हुने विश्वासका साथ आम नागरिकको स्वास्थ्यलाई समेत ध्यान राखी पूर्वघोषित ‘अनिश्चितकालीन स्वास्थ्य सेवा बहिष्कार’ को कार्यक्रम अर्को निर्णय नहुँदासम्मका लागि स्थगन गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
तर, संघका मागहरु पूरा गर्नेबारेको राजनीतिक, कानुनी तथा संसदीय प्रक्रिया, पहल र प्रगतिबारे भने आफ्नो दृष्टि रहिरहने संघले जनाएको छ। ‘सरकारी चिकित्सकको भावना र मागविपरीत हुन गए संघ पुनः कडा आन्दोलनमा उत्रन बाध्य हुनेछ,’ संघको विज्ञप्तिमा भनिएको छ।