लमही- घरमै बच्चा जन्माउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ । राजपुर गाउँपालिका–७ लैबरुवा निवासी १७ वर्षीया शिवा केसीको घरमै बच्चा जन्माएपछि उनको निधन भएको हो ।
शनिबार दिउँसो १२ बजे घरमै बच्चा जन्माएकी केसीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको राजपुर स्वास्थ्यचौकीका निमित्त प्रमुख खिमबहादुर रावतले जानकारी दिए । ‘‘दिउँसो १२ बजे बच्चा जन्मिएको परिवारले हामीलाई जानकारी दिए, बच्चा घरमै जन्मिएकाले होला, त्यसपछि साल अड्किदा अत्यधिक रक्तस्राव भएको अवस्थामा साँझ ५ बजे स्वास्थ्यचौकी ल्याइएको थियो’’ उनले भने ।
उनले भने, “अन्तिम अवस्थामा स्वास्थ्यचौकीमा ल्याइएकाले सामान्य सलाइन चढाएर हामीले घोराही पठाएका थियौं ।” सुत्केरीलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो तर त्यहाँ पुग्नसाथ शनिबार साँझ ७ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
व्यथा लाग्नसाथ स्वास्थ्यचौकी ल्याएको भए यस्तो स्थिति हुने थिएन होला तर अत्यधिक रक्तस्राव भएर बेहोस् भएपछि मात्रै अस्पताल ल्याइएको निमित्त प्रमुख रावतले बताए । साल अड्किएकाले उत्यधिक रक्तस्राव भएको र त्यही कारणले सुत्केरीको मृत्यु भएको र शिशुको अवस्था भने सामान्य रहेको उनकाे भनाइ थियो ।
स्वास्थ्यचौकीमा बिरामीका लागि निःशुल्क रुपमा घरमै एम्बुलेन्स पु¥याउने व्यवस्था भए पनि बिरामीले चासो नदिँदा पटक–पटक यस्तो समस्या हुने गरेकाले यस विषयमा चेतना जगाउनु आवश्यक रहेको निमित्त प्रमुख रावतले बताए ।
आफूहरुले गर्भवती महिलालाई नियमित जाँच गराउन तथा स्वास्थ्य संस्थामा गएर मात्रै सुत्केरी हुन अनुरोध गर्दा पनि अझै कतिपय स्वास्थ्य संस्था नआउने उनले बताए ।
बालविवाहले समस्या
स्वास्थ्यका दृष्टिीले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न उचित मानिदैन । कानूनमा पनि २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने उल्लेख भएपनि अझै पनि लुकिछिपी २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन् ।
सानै उमेरमै विवाह गर्दा पनि यस्तो समस्या निम्तिएको हुनसक्ने निमित्त प्रमुख रावत बताउँछन्र । कम उमेरमा शारीरिक अङ्ग परिपक्क भइनसकेको भन्दै २० वर्षभन्दा कम उमेरमा आमा बन्नु स्वास्थ्यका लागि जोखिम भएको हाे ।
सुत्केरी समस्या बढ्दै
पछिल्लो समय राजपुरमा यस्ता समस्या बढ्दै गएको छ । एक महीनाअघि पनि समयमै एक सुत्केरी महिलालाई अस्पताल नल्याउँदा उनको मृत्यु भएको थियो । गर्भवती अवस्थामा पोसिलो खानेकुरा नखाने र गर्भवती अवस्थामा तुहिने समस्या धेरै देखिएको निमित्त प्रमुख रावतले बताए । दीपक बोहरा \ रासस