काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले सबै सरकारी अस्पताललाई वर्गीकरण गरेको छ। मन्त्रालयले ती अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाका बारेमा पनि स्पष्ट पारेको छ।
स्वास्थ्यका संरचना संघीयतामा रुपान्तरण भएको अवस्थामा कति शय्याको अस्पताल कुन तहमा रहने, ती अस्पतालले केके सेवा उपलब्ध गराउने भन्ने विषयलाई प्रष्ट पार्न मन्त्रालयले निर्देशिका बनाएको थियो।
‘अस्पताल तथा स्वास्थ्य संस्था व्यवस्थापन सुदृढीकरणका लागि न्यूनतम सेवा मापदन्ड कार्यक्रम निर्देशिका २०७५’ अनुसार अस्पतालहरुको वर्गीकरण गरिएको मन्त्रालयले जनाएको छ।
सो निर्देशिकामा प्राइमरी अस्पताल, सेकेन्डरी अस्पताल ‘ए’, सेकेन्डरी अस्पताल ‘बी’ र ट्रसरी अस्पताल गरी चार तहका अस्पतालमा वर्गीकरण गरिएको छ।
प्राइमरी अस्पताल
न्यूनतम सेवा मापदन्डले निर्धारित सेवा दिने सामान्यता १५ देखि ५० शय्यासम्मका अस्पताललाई प्राइमरी अस्पताल अस्पतालका रुपमा परिभाषित गरिएको छ। सो किसिमको अस्पताल १०० शय्यासम्म हुनसक्ने उल्लेख छ। यस तहका अस्पतालको प्रभाव क्षेत्र १० हजारदेखि माथिको जनसंख्या भएमा सिइओएनसी सेवा ती अस्पतालहरुमा हुनेछ।
यी अस्पतालमा जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति सेवा, बाल रोग तथा दन्त सेवा दिइने छ। जसमा २४सै घन्टा आकस्मिक सेवासहित एक्सरे, इसिजी सुविधा हुनेछ।
स्थानीय सरकारको मातहतमा रहने यी अस्पतालमा सरकारका जनस्वास्थ्य कार्यक्रमहरु खोप, पोषण कार्यक्रम, डट्स सेवा, सुरक्षित गर्भपतन सेवा, एआरटी, एएनसी पिएनसी र परिवार नियोजन सेवा पनि उपलब्ध हुनेछ।
सेकेन्डरी अस्पताल ‘ए’
सेकेन्डरी अस्पताल ‘ए’ न्यूनतम सेवा मापदन्डले निर्धारित सेवा दिने सामान्यता १०१ देखि २०० शय्यासम्मका अस्पताल हुन्। यी अस्पतालमा ३०० शय्यासम्म हुनसक्ने छन्।
यी अस्पतालमा प्राइमरी अस्पतालमा भएका सबै सेवासहित अर्थोपेडिक, नाक, कान, घाँटी, रेडियोलोजी, मानसिक र एनेस्थेसिया सेवासहित २४सै घन्टा सेवा उपलब्ध हुनेछ। जहाँ एमडिजिपी वा इमरजेन्सी फिजिसियनको नेतृत्वमा फार्मेसी, ल्याब, ब्लड बैंक, सिइओएनसी इनप्योसेन्ट र आकस्मिक सर्जरी सेवासमेत उपलब्ध हुनेछन्।
ती अस्पतालमा आइसियू, पिआसियू, एनआइसियू र हेमोडाइलासिस सेवा पनि समावेश छन्।
बिरामीले एक्सरे, युएसजी, इसिजी, सिटी स्क्यान, इन्डोस्कोपी, इकोकार्डियोग्राम र फिजियोथेरापी जाँच सोही अस्पतालबाट सुविधा पाउनेछन्। यो अस्पताल प्रदेश सरकारको मातहतमा रहनेछ।
सेकेन्डरी अस्पताल ‘बी’
५० शय्यादेखि १०० शय्यासम्मका अस्पताल यो समूहमा परेका छन्। यस किसिमका अस्पताल १५० शय्यासम्मका हुनसक्ने छन्। प्रदेशअन्तर्गत यी अस्पताल रहनेछन्।
यी अस्पतालमा जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति सेवा, बाल रोग तथा दन्त सेवा, अर्थोपेडिक दिइनेछ। जसमा २४सै घन्टा आकस्मिक सेवासहित एक्सरे, इसिजी, फिजियोथेरापी सुविधा हुनेछन्। जहाँ फार्मेसी, आकस्मिक सर्जरी, उपलब्ध हुनेछन्।
ट्रसरी अस्पताल
कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी, न्युरोलोजी, ग्यास्ट्रोलोजी र वर्न÷प्लास्टिक गरी सात विशिष्ट सेवासहित ३०१ देखि ७०० शय्यासम्मका अस्पताल यो समूहमा पर्छन्। बढीमा एक हजार शय्यासम्म यी अस्पताल हुनसक्ने छन्।
सात विशिष्ट सेवाबाहेक इन्टरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति सेवा, डेन्टल, बालरोग, अर्थोपेडिक, नाक, कान र घाँटी, मानसिक, चर्म, रेडियोलोजी र एनेस्थेसिया सेवा यी अस्पतालबाट उपलब्ध हुन्छ।
संघ अन्तर्गत रहने यी अस्पतालमा २४सै घन्टा आकस्मिक सेवा, आइसियू, पीआइसियू, एनआइसियू, सिसीयु, हेमोडाइलासिस र कार्डिक क्याथरलाइजेसन सुविधा दिइन्छ।
सबै अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य कार्यक्रमहरु उपलब्ध हुनेछन्। खोप र पोषण कार्यक्रम ट्रसरी अस्पतालमा उपलब्ध हुने छैनन्।