जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीले अत्यावश्यक दुखाइ व्यवस्थापन तालिम लिएका छन्।
उनीहरुले कर्णाली प्रदेशमै पहिलो पटक यो तालिम पाएका हुन्। दुरदराजमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले अत्यावश्यक दुखाई ब्यवस्थापन तालिम नपाउँदा उपचारमा समस्या आउने गरेको अवस्थालाई मध्यनजर गर्दै कर्णाली प्रतिष्ठानमा तालिमको आयोजना गरिएको हो।
अस्पतालका मेडिकल डाइरक्टर डा. पुजन रोकायाले दुखाइलाई व्यवस्थित गर्ने,औषधी प्रयोग र साईड इफेक्टका बारेमा तालिम दिइएको जानकारी दिए।
उनले भने, ‘यो तालिमले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुखाइ कम गराउन अपनाउनु पर्ने उपायका बारेमै राम्रै जानकारी दियो।’ दुखाई ब्यवस्थापन गर्ने पनि उपाय वेग्लै हुने भएकोले यहाँका स्वास्थ्यकर्मी ढुक्क भएका छन्।
पहिले यो तालिम लिनकै लागि राजधानी काठमाण्डौ धाउनुपर्थ्यो, त्यो अवसर दुर्गमका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मिल्दैनथ्यो । अहिले जुम्लामै विज्ञ टोली आएर तालिम लिनु पर्ने अवस्था आउदा निकै खुसी छौँ। अस्पतालमा बालबालिका, बुढाबुढी, युवायुवती सवै दुखाई रोगले ग्रसित देखिन्छ, मेडिकल डाईरेक्टर रोकायाले भने, ‘अब दुखाई ब्यवस्थापन गर्न संकट आउने छैन।’
तालिम दिन काठमाडौंदेखि डा. रेणु गुरुङ, बिनिता आचार्य र दिपेश धिताल जुम्ला पुगेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना चिकित्सक र स्टाफ नर्स र एचए गरि ३० जनाले तालिम लिएका हुन्।