काठमाडौं- नेपाल चिकित्सक संघले वरिष्ठ मुटुरोग विशेषज्ञ डा डम्बर बहादुर कार्की (डिबी)लाई लाइफ टाइम अवार्ड प्रदान गरेको छ।
संघ स्थापना भएको ६९ औं वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा डा कार्कीलाई उक्त अवार्ड प्रदान गरिएको हो। चिकित्सक संघले आफ्नो स्थापना दिवसलाई ‘डक्टर्स डे’का रुपमा मनाउँदै आएको छ।
डा कार्कीले आज स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले अवार्ड प्रदान गरेका हुन्।
लाइफ टाइम अचिभमेन्ट पाउन सफल डा कार्कीले नेपालमा मुटु रोगको उपचार पद्दतिको विकास र सर्वसुलभ बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। उमेरले ८ दशक पार गरिसक्दा पनि उनी अझै सक्रिय रुपमा चिकित्सा क्षेत्रको विकासमा लागिरहेका छन्।
भोजपुरको छिनामखु गाउँमा जन्मिएका डा कार्कीले २०११ सालमा पद्मोदयबाट प्रथम डिभिजनमा एसएलसी पास गरेका हुन्। उनी त्यसबेला एसएलसी बोर्डमा दोस्रो भएका थिए।
त्यसपछि उनले त्रिचन्द्र क्याम्पसमा आइएससी पढेका हुन्। सरकारी छात्रवृत्तिमा एमबिबिएस पढ्न भने दक्षिण भारतको म्याङ्लोरस्थित मणिपाल मेडिकल युनिभर्सिटीमा पुगेका थिए उनी।
अध्ययनपछि उनले वीर अस्पतालमा चिकित्सकीय सेवा दिन सुरु गरेका हुन्।

डा कार्की मुटुरोगको उपचारमा पहिलो पुस्ताका कहिलिएका डाक्टर हुन् । इन्टरनल मेडिसिनमा एमआरसिपी गरेका उनको मुटुरोगतिर झुकाव भने ‘इको मेसिन’का कारण बढ्यो । मुटुको अवस्था बुझ्न वीर अस्पतालमा इको मेसिन ल्याउने भएपछि उनलाई तालिमका लागि अमेरिका पठाइयो । तालिम लिएर नेपालमा उपलब्ध इको मेसिन सञ्चालन गर्न थाले।
इको मेसिनले मुटुको अवस्था जाँच गेर मात्रै भएन, समस्या देखिँदा औषधि उपचार पनि उनैले गर्नुपर्ने भयो । त्यसैले कार्डियोलोजीमा एक वर्षको तालिम लिन उनलाई नै पठाइयो । मुटुरोग सम्बन्धी जानकारी र उपचार प्रक्रियाबारे उनले एमआरसिपी गर्दा ध्यान दिएका थिए।
मुटुरोगको उपचार सर्वसाधरणको पहुँचमा पुर्याउन उनको ठूलो योगदान छ । उनले वीर अस्पतालमा मुटुरोग विशेषज्ञका रुपमा काम गरिरहेका बेला नेपालमा मुटुको शल्यक्रिया सुरु भएको थिएन । पछि अस्ट्रेलियाको सिड्नीबाट डाक्टर आएर वीरमै मुटुको सर्जरी थाले । उनी सम्झिन्छन्, ‘वर्षमा एकपल्ट उताबाट डाक्टरको समूह आउँथ्यो । हामी बिरामीको सूची तयार पारेर राख्थ्यौं । छानेर १५ जनासम्मको शल्यक्रिया गरेर समूह फर्किन्थ्यो।’
नेपालमा पोस्ट ग्य्राजुएट ९विशेषज्ञ० तहको पठनपाठन सुरु हुनुमा उनको पनि भूमिका छ । डा कार्कीले वीर अस्पतालमा इन्टरनल मेडिसिन र मुटुरोग विभाग प्रमुखका रुपमा जिम्मेवारी सम्हालिरहेका थिए । पूर्वराष्ट्रपति डा रामवरण यादव स्वास्थ्य मन्त्री थिए । एकदिन डा कार्कीलाई डा यादवले स्वास्थ्य मन्त्रालय बोलाएर भने, ‘नेपालमै पोस्ट ग्य्राजुएट पढाइ सुरु गर्नुपर्यो । यसको नेतृत्व तपाईं गर्नुहोस् ।’ उनलाई सदस्य सचिवको जिम्मेवारी दिइयो ।
समितिमा उनी लामो समय सदस्य सचिव रहे । जुन अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रुपमा स्थापित छ।
यसैगरी, मुटुरोगको उपचारका लागि खुलेका विभिन्न संघसंस्थामा उनको नेतृत्वदायी भूमिका रह्यो । गंगालाल अस्पताललाई हृदयरोग केन्द्रका रुपमा विकास गर्न उनको योगदान उल्लेख्य छ । उनी यसलाई सञ्चालन गर्ने ‘हर्ट फाउन्डेसन’को सदस्यदेखि अध्यक्षसम्म भए । यसैगरी मुटुरोगका डाक्टरको समाज ‘इको–कार्डियो सोसाइटी’का अध्यक्षसमेत भए उनी । निजी लगानीमा खुलेको नर्भिक इन्टरनेसनल अस्पताललाई मुटुरोगका लागि लोकप्रिय बनाउन उनको पनि भूमिका छ । उनले नर्भिक स्थापनाकालका केही वर्ष अस्पतालको अध्यक्षका रुपमा व्यवस्थापकीय जिम्मेवारी समेत सम्हालेका थिए।
त्यसपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनलाई शैक्षिक विकासमा सघाउन आग्रह गर्यो । उनी सिनेट सदस्य भएर त्यहाँ पुगे । काठमाडौं युनिभर्सिटीले पनि उनलाई सहयोगका लागि आग्रह गर्यो । ३ वर्ष आफ्नो सीपज्ञान उनले त्यहाँको शैक्षिक स्तर उकास्नमा लगाए ।
त्यसपछि काठमाडौं मेडिकल कलेज ९केएमसी० ले विशेषज्ञ तहको पढाइ सुरु गरेपछि उनलाई बोलाइयो । उनी कलेजको मेडिसिन र मुटु रोग विभागका संस्थापक विभाग प्रमुख हुन् । केएमसीमा ९ वर्ष विशेषज्ञ तहका लागि बनेको बोर्डका अध्यक्ष बने उनी।
यस्तै, संघले खड्क नन्द चिकित्सक अनुसन्धान अवार्ड धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा शितल गुप्तालाई प्रदान गरेको छ। अनुसन्धानको क्षेत्रमा योगदान गरेको भन्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।