काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५औं पञ्चवर्षीय योजनामा समावेश गर्ने स्वास्थ्य क्षेत्रका कार्यक्रमको मस्यौदा तयार पारेको छ। आगामी आर्थिक वर्ष ०७६/७७ देखि ८०/८१ सम्म कार्यान्वयनमा आउने यो योजनाको मस्यौदा निर्माणका लागि राष्ट्रिय योजना आयोगले प्रक्रिया तीव्र पारेको छ।
आगामी ५ वर्षमा स्वास्थ्यका क्षेत्रमा मन्त्रालयले गर्ने काम तथा नीतिहरूको लक्ष्य, उद्देश्य, रणनीति र कार्यनीतिसहितको योजनाको मस्यौदा मन्त्रालयले तयार पारेर योजना आयोगमा पेस गरिसकेकाे छ। मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा विकास देवकोटाले योजनाको मस्यौदा राष्ट्रिय योजना आयोगमा पेस गरिसकेको बताए।
‘आगामी बुधबार आयोगको बैठकले उक्त मस्यौदालाई अन्तिम रुप दिने सम्भावना छ,’महाशाखा प्रमुख देवकोटाले भने, 'पन्ध्रौँ योजनाले देशका सबै तहमा सबल स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा सम्पूर्ण नागरिकको पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ।'
योजनाले सबै तहमा स्वास्थ्य सेवाहरु सम्बन्धि अधिकार तथा दायित्वको बाँडफाँट, प्रविधि तथा उपकरणको बढ्दो उपलब्धताले स्वास्थ्य सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउने अवसरको रुपमा लिएको छ।
'नागरिकमा निरन्तर बढिरहेको चेतना र चासो, संवैधानिक प्रावधान, तर्जुमा भइरहेका स्वास्थ्य नीति तथा कार्यक्रमहरुले स्वास्थ्य सेवालाइ थप व्यवस्थित र गुणस्तरीय बनाउने अवसर प्राप्त भएको छ,’ योजनाको मस्यौदामा उल्लेख छ।
मन्त्रालयले उक्त योजनाले स्वास्थ्यसम्बन्धी संवैधानिक व्यवस्था, २५ वर्षे ‘समृद्ध नेपाल सुखी नेपाल'को दूरगामी सोच तथा दिगो विकास लक्ष्य हासिल गर्न स्वास्थ्य क्षेत्रको १५औं योजनाले योगदान गर्ने विश्वास लिएको छ।
योजना निर्माणका क्रममा संविधान बमोजिम राज्यका तीनै तहले सम्पादन गर्ने कार्यहरुको सूची, सान्दर्भिकता, विद्यमान नीति, राष्ट्रका तर्फबाट विभिन्न समयमा गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्दता एवं स्वास्थ्य क्षेत्रका चुनौतालाई समेत आधार बनाइएको मन्त्रालयले जानकारी दिएको छ।
१५औं योजनाका उद्देश्य
-सबै तहमा बहुक्षेत्रीय समन्वय तथा साझेदारी मार्फत गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने
-स्वास्थ्य सेवामा नागरिकको पहुँच तथा उपभोग सुनिश्चित गर्ने
-स्वास्थ्यप्रति नागरिकलाई जिम्मेवार बनाउँदै स्वस्थ्य जीवनशैली प्रर्वद्धन गर्ने
योजनामा मातृशिशु स्वास्थ्यलगायत जनस्वास्थ्य क्षेत्रमा हालसम्म भएका उपलब्धि जोगाउँदै अगामी कार्यक्रम प्रभावकारी बनाउनु चुनौतीपूर्ण भएको उल्लेख छ।
प्रजनन स्वास्थ्यका सबै पक्षमा नागरिकको समतामूलक पँहुच स्थापित गर्न, संक्रामक रोगहरुको नियन्त्रण, नसर्ने रोग, जलवायु परिवर्तनका कारणले हुने स्वास्थ्य समस्या, प्राकृतिक एवं सडक दुर्घटनालगायत अन्य जोखिमको रोकथाम तथा नियन्त्रण गर्न उपयुक्त सीप र दक्षता भएका विभिन्न तह र प्रकारका स्वास्थ्य जनशक्तिको सन्तुलित उत्पादन तथा व्यवस्थापन चुनौती बनेको योजनाको मस्यौदामा उल्लेख छ।
त्यसैगरी, सहरीकरण, विकास र निर्माणसँगै सृजना भएका र जीवनशैलीसँग सम्बन्धित स्वास्थ्य समस्याको समाधान, विपन्न, सीमान्तकृतका लागि लक्षित स्वास्थ्य सेवाको विकास गर्नु, औषधि, औषधिजन्य सामग्रीको प्रभावकारी व्यवस्थापन तथा नियमन कार्यलाई पनि मन्त्रालयले चुनौतीको रुपमा लिएको छ।
संघीय संरचनाअनुरुप अस्पताल, स्वास्थ्य संस्था तथा सबै किसिमका स्वास्थ्य सेवा व्यवस्थापन नहुनु, स्वास्थ्य बिमा विस्तार गर्नु, निजी तथा गैरसरकारी क्षेत्रसँग प्रभावकारी सहकार्य तथा साझेदारी गर्नुलगायतका विषयमा पनि प्रभावकारी स्वास्थ्य सेवा उललब्ध गराउने लक्ष्यका चुनौती भएको मन्त्रालयको भनाइ छ।
विगतका उपलब्धि र हालको अवस्था
विगत र चालु योजनामा सञ्चालन भएका स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमको शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३२ र नवजात शिशु मृत्युदर (प्रतिहजार जिवित जन्ममा) २१ मा झरेको छ।
पाँच वर्ष मुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३९ तथा मातृ मृत्युदर (प्रति लाख जीवित जन्ममा) २३९ मा रहेको अवस्था छ।
परिवार नियोजनका आधुनिक साधन प्रयोग दर ४३ प्रतिशत रहेको छ भने कुल प्रजनन दर २.३ रहेको छ।
पाँच वर्ष मुनिका बच्चामा पुड्कोपन घटेर ३६ प्रतिशत पुगेको छ। आयोडिनयुक्त नुनको उपयोग गर्ने घरधुरी ९५ प्रतिशत पुगेको छ।
१५ देखि ४९ वर्ष समूहका महिलामा रक्तअल्पता हुनेको प्रतिशत बढेर ४१ प्रतिशत पुगेको छ।
यस्ता छन् ११ रणनीति
१. आधारभूत, आकस्मिक, विशिष्टकृत स्वास्थ्य सेवामा सवैनागरीकको पहुँच सुनिश्चित गर्ने।
२. जनस्वास्थ्य आयामहरू प्रबर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक तथा प्रशामक लगायतका सेवालाई समय सापेक्ष सन्तुलित विकास तथा विस्तार गर्ने।
३. जनसंख्याको बितरण, भौगोलिक अवस्थिति एवं आवश्यकताको आधारमा संघ, प्रदेश तथा स्थानिय तहमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुको न्युनतम व्यवस्था, स्वास्थ्य सेवा तथा जनशक्तिको विकास तथा विस्तार गरिने।
४. बहुक्षेत्रिय समन्वय मार्फत सवै नीतिमा स्वास्थ्य लाइ समावेश गर्ने । स्वास्थ्य सेवामा सरकारी, नीजि तथा गैरसरकारी क्षेत्रबीचको सहकार्य तथा साझेदारीलाई व्यवस्थापन तथा नियमन गरिने।
५. जीवनपथको अवधारणा अनुरुप मातृ शिशु, बालबालिका, किशोरकिशोरी, वयस्क तथा जेष्ठ नागरीकको स्वास्थ्य आवश्यकतालाई संवोधन गर्ने।
६. रोग नियन्त्रण तथा जनस्वास्थ्य विपद् व्यवस्थापन पुर्वतयारी तथा प्रतिकार्यको एकीकृत उपायहरु अवलम्वन गर्ने ।
७. सबै तह तथा प्रकारका स्वास्थ्य सेवामा गुणस्तर कायम गर्ने।
८. पोषण तथा स्वस्थ जीवनशैलीका लागि उपयुक्त वातावरण सृजना गर्न नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गर्ने।
९. आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी तथा अन्य चिकित्सा पद्दतिहरुको योजनाबद्द विकास, विस्तार र व्यवस्थापन गर्ने।
१०. जनसंख्या व्यवस्थापनलाइ समग्र बिकासको अभिन्न अंगको रुपमा संस्थागत गर्ने।
११. औषधी, स्वास्थ्य प्रविधि तथा स्वास्थ्यजन्य सामग्रीको उत्पादन, आयात, भण्डारण, वितरण तथा प्रयोगको नियमन तथा व्यवस्थापन गर्ने।