राजविराज– स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखामा रहेको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाले सप्तरीमा आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी अभिमुखीकरण तालिम दिएको छ।
५० जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक दिने, ५५ जना शिक्षक शिक्षिकालाई २ दिने तथा १ सय जना विद्यार्थीलाई आधा दिने अभिमुखीकरण तालिम दिइएको शाखाले जनाएको छ।
प्रशिक्षणमा आँखा, नाक, कान, घाँटी र दाँत तथा मुखमा देखिने समस्या, तिनको निदान, प्राथमिक घरेलु उपचार, प्रेषण, रोकथाम र सरसफाइका बारेमा जानकारी गराइएको थियो। समाजमा व्याप्त कुरिती, अन्धविश्वास र त्यसले स्वास्थ्यमा पारेको नकारात्मक प्रभावका बारेमा पनि कार्यक्रममा छलफल भएको थियो।
केशो अनिरुद्रदेवी माध्यमिक विद्यालयमा ३ वटा सरकारी विद्यालयका एक सय विद्यार्थीलाई दा“त तथा मुख स्वास्थ्यको महत्व, ब्रस तथा मन्जनको छनोट र दा“त सफा गर्ने तरिका अभ्यास गराइएको थियो।
सहभागीका तर्फबाट महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी देवकोटा तथा प्रधानाध्यापक पिके मण्डलले आफ्नो जीवनकालमा यस्तो कार्यक्रम पहिलो पटक जिल्लामा भएको र सिकेको सिप सबैले व्यवहारमा उतार्नुपर्ने बताए।
प्रदेश स्वास्थ्य कार्यालय प्रमुख निरन्जन यादवले शरीरको प्रवेशद्वार मुख स्वस्थ राखी शरीर स्वस्थ बनाउन सबैमा आग्रह गर्दै पान, सुर्ती जस्ता हानिकारक पदार्थ त्याग्दै अन्यलाई पनि त्याग्न आग्रह गरेका थिए। सो अवसरमा १७ जना सहभागीले नराम्रा अम्मल त्याग्ने प्रण गरेका थिए।
डा प्रकाश बुढाथोकीको नेतृत्वमा महाशाखाबाट उक्त टोली गएको थियो। प्रशिक्षकहरुमा नाक, कान, घाँटीतर्फ वीर अस्पतालका डा ढुण्डीराज पौडेल, दाँत तथा मुख स्वास्थ्यतर्फ डा प्रकाश बुढाथोकी र डा चाँदनी जैसवाल तथा आँखामा सगरमाथा आ“खा अस्पतालका नेत्र अधिकृत रामानन्द विके रहेको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा बुढाथोकीले बताए।
यस्तै कार्यक्रम यसअघि कर्णाली प्रदेशको रुकुम पश्चिम चौरजहारीमा सम्पन्न भइसकेको तथा अर्काे साता प्रदेश १ ओखलढुंगाको रुम्जाटार तय भइसकेको डा बुढाथोकीले जानकारी दिए।