काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भइसकेको छ। प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रीमण्डलमा २१ जनाको सम्पत्ति विवरण सार्वजनिक भइसकेको छ।
तर, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुरमा यादव सहित कानुन मन्त्री भानुभक्त ढकाल र सहरी विकास मन्त्री मोहम्द इश्तियाक राइको सम्पत्ति विवरण भने अझै गोप्य नै राखिएको छ।
भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग सम्बन्धी ऐनमा ६० दिनभित्र अनिवार्य रुपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
तर, स्वास्थ्यमन्त्री यादव र राज्यमन्त्री डा यादव सरकारमा सहभागि भएको ९ महिनाभन्दा बढी भइसके पनि उनीहरुको सम्पत्ति अझै सार्वजनिक गरिएको छैन। स्वास्थ्यमन्त्री यादवले गत जेठ १८ गते स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीको सम्पत्ति सार्वजनिक नभएको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव विनोद बहादुर कुँवर भन्छन्, ‘मन्त्रिपरिषद्बाट पास भएपछि हामीले सार्वजनिक गर्ने हो। उहाँहरुको विवरण आइसकेको हुनुपर्छ। के रहेछ बुझेर सार्वजनिक गर्नेछौं।’
उनले स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको सम्पत्ति विवरण गोप्य राख्न नखोजिएको जानकारी दिए।