काठमाडौं– ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको चिकित्सक टोलीले ल्याप्रोस्कोपिक पद्धतिबाट सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ।
‘शरीरमा न्यूनतम हानि गरी गरिने यो शल्यक्रियाको घाउ चाँडै निको हुन्छ र जटिलता पनि कम छ। साथै, प्रत्यारोपण गरिएको मिर्गौलाको काम गर्ने क्षमतामा ठूलो अन्तर हुँदैन,’ चिकित्सक टोलीको नेतृत्व गरिरहेका वरिष्ठ चिकित्सक प्राध्यापक डा प्रेमराज ज्ञवालीले भने, ‘तर ओपन प्रोसेड्युर समेत भनिने पारम्परिक पद्धतिमा दाता पीडाबाट गुज्रनुपर्छ र एउटा मिर्गौलाले मात्र काम गर्ने सामान्य स्थितिमा पुग्न समय लाग्छ।’
उनले भने, ‘दाताको शरीरबाट ल्याप्रोस्कोपिक माध्यमबाट मिर्गौला निकालिए पनि ग्रहणकर्तामा भने पुरानै पद्धतिबाट प्रत्यारोपण गर्नुपर्ने हुन्छ, यो नयाँ पद्धतिमा प्रत्यारोपणमा लाग्ने समय कम हुन्छ।’
डा ज्ञवाली, डा पवन चालिसे, डा अनिल श्रेष्ठ, डा भोजराज लुइँटेल, डा सुरेन्द्रविक्रम अधिकारी, स्टाफ नर्स मन्जु शाही, सुजाता गणेश र रोशनी डालीको टोलीले एक ३५ वर्षीया महिलाको मिर्गौला उनकै ३८ वर्षीय पतिको शरीरमा ल्याप्रोस्कोपिक माध्यमबाट प्रत्यारोपण गरेको हो। यो टोलीलाई डा अर्चन अधिकारी, डा अविनाश गुरुङ, डा अशोक खड्का र डा सुजाता निरौलाको एनेस्थेसिया टोलीले मद्दत गरेको थियो।
‘ग्रान्डीको उत्कृष्ट चिकित्सक टोलीले हासिल गरेको यो सफलताप्रति हामी गौरवान्वित छौं। यस्तो प्रकारको अपरेसन गर्ने अस्पतालको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्लबमा हामी पनि सामेल भएका छौं। नेपालको स्वास्थ्य सेवामा यो हाम्रो एउटा सानो योगदानका रुपमा रहनेछ,’ ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले भने, ‘यो अपरेसन नेपालमा भएका ल्याप्रोस्कोपिक र एन्थ्रोस्कोपिक अपरेसनको एउटा महत्वपूर्ण अंश हो।’
ल्याप्रोस्कोपिक मिर्गौला प्रत्यारोपणका दाता स्वास्थ्यलाभ गरी डिस्चार्ज भइसकेका छन् भने ग्रहणकर्ताको स्वास्थ्यस्थिति राम्रो रहेको र केही दिनमै डिस्चार्ज गरिनेछ।