कालिकोट- कालिकोटको पचालझरना गाउँपालिकाले नेपाल सरकारको स्वास्थ्य नितिलाई पछ्याउँदै प्रत्येक वडामा स्वस्थ्य सेवाको पहुँच विस्तार गर्दै लगेको छ। पालिकामा रहेका ९ वटै वडामा स्वास्थ्य संस्थाको विस्तार गरी वडाबाट नै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ।
सो गाउँपालिकाको सबै वडामा स्वास्थ्य संस्था विस्तार गर्ने उद्देश्यअनुरुप 'एक वडा एक स्वास्थ्य संस्था' को नीतिअनुसार चालू आव मा ६ वटा वडामा सामुदायिक स्वास्थ्य इकाई र ३ वटा स्वास्थ्य चौकी सञ्चालनमा ल्याउँदै सबै वडामा स्वास्थ्य संस्थाको पहुँच पुर्यागएको हो।
यसै आर्थिक वर्षमा कर्मचारीको व्यवस्थापन, फर्निचर व्यवस्थापन, औषधिको खरिद तथा व्यवस्थापन, इकाई सञ्चालनमा ल्याउने भवन भाडामा व्यवस्थापन, सेवा सञ्चालनको लागि केही इक्विपमेन्ट आदिको व्यवस्था समेत गरेको छ।
गाउँपालिका अध्यक्ष स्वयम् उपस्थित भएर वडावडामा स्वास्थ्य इकाई उद्घाटन पनि गर्दै आएका छन्। केही वडामा सामुदायिक स्वास्थ्य इकाइलाई जग्गा समेत प्राप्त भइसकेको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल बताउँछन्। यस गाउँपालिकाको स्वास्थ्य सेवा सुधारको लागि कुनै पनि कसुर बाँकी नराख्ने उनको प्रतिबद्धता छ।
गाउँपालिकाको पहलमा राम्नाकोट स्वास्थ्य चौकीमा २४ सै घण्टा स्वास्थ्य सेवा दिने संस्थाको रुपमा व्यवस्था गराएका छन् भने संस्थामा ल्याब परीक्षणको समेत व्यवस्था मिलाएका छन्। सबै संस्थाको लागि आवश्यक जनशक्ति व्यवस्थापन हुनु नै यस पालिकामा सबै वडामा स्वास्थ्य सेवाको पहुँच पुर्यायउने बलियो आधार भएको स्वास्थ्य संयोजक चन्द्रेश्वर यादव बताउँछन्।
गाउँपालिकामा स्वास्थ्य सेवालाई सुधार गर्ने उद्देश्य राखेर नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्यका लागि सामुदायिक सहकार्य परियोजना सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्षले स्वास्थ्य क्षेत्र सुधारको लागि नीति, उचित समय र बजेटको व्यवस्था मिलाएका छन्।
पचालझरना गाउँपालिकाले स्वास्थ्य सेवा सुधारको लागि लिएको लक्ष्य प्राप्तिको सहयोगी नेपाल रेडक्रस सोसाइटी बन्ने र प्रत्यक्ष समुदायमा रहेर प्रतिफल देखिनेगरी काम गर्ने परियोजना जिल्ला अधिकृत टेकम वलीले बताए।