काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) केन्द्रिय जनस्वास्थ्य विभागको प्रमुखमा सहप्राध्यापक डा आमोद कुमार पौड्याल नियुक्त भएका छन्।
पौड्याल २७ वर्षदेखि त्रिवि अन्तर्गत जनस्वास्थ्य विभागमा प्राध्पापन गर्दै आएका छन्। यो नियुक्तीसँगै पौड्याल उक्त विभागको पहिलो प्रमुख बनेका हुन्। पौड्यालले नियुक्ती पत्र समेत बुझिसकेका छन्।
जनस्वास्थ्य क्षेत्रको सर्वोपरी विकास र सेवा विशिष्टिकरणका लागि त्रिवि कार्यकारी परीषदले गत भदौ १७ गते विभागको गठन गरेको थियो। तर विभाग गठन भएको पाँच महिना वितिसक्दा समेत प्रमुख नियुक्त हुन सकेको थिएन।
प्रमुख नियुक्तीमा ढिलाई गरेपछि महाराजगन्ज मेडिकल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले तीन महिनासम्म डिन कार्यालय बन्द गराएको थियो। प्रमुख नियुक्तीको माग लिएर नेपाल जनस्वास्थ्य संघले ध्यानाकर्षण गर्दै आएको थियो। सोही दवाव र ध्यानाकर्षणपछि त्रिविले विभागमा प्रमुखको नियुक्ती गरेको हो।
लामो संघर्षपछि विभागिय प्रमुखको नियुक्तिपछि जनस्वास्थ्य संघका केन्द्रिय सदस्य कमल रानाभाटले प्रतिक्रिया दिँदै भने, ‘जनस्वास्थ्यको क्षेत्रमा यो ठूलो उपलब्धि हो।’