काठमाडौं– भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पताल आज २४ औं वर्षमा प्रवेश गरेको छ। विसं २०५१ सालमा नेपाल अर्बुदरोग निवारण संस्थाले स्थापना गरेको यस अस्पताल १५ शैयाबाट अहिले आकस्मिक र डे केयर गरी हाल १ सय ४० शैयामा विस्तार गरिएको छ।
नेपालमा रहेका क्यान्सर रोगीहरूलाई सरल र सहज रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले सो अस्पताल स्थापना भएको हो।
अस्पतालले क्यान्सर उपचारमा सर्जरी, केमोथेरापी वार्ड, आइसियु सेवा, डे केयर, सर्पोटिभ केयर, बाल ब्लड क्यान्सर वार्ड, विभिन्न रोगका ओपिडी सेवा, आधुनिक प्याथोलोजी सेवा, सिटिस्क्यान, इन्डोस्कोपी, अल्ट्रासाउण्ड, एनेसथेसिया, शल्यक्रिया विभाग लगायत रेडियोलोजी लगायतका सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउँदै आएको छ।
गैरनाफामुखी समाजिक संस्थाको रुपमा सञ्चालित यस अस्पतालमा सन् २०१२ मा २८ हजार ३ सय ६६ जना उपचारका लागि अस्पताल पुगेका थिए भने सन् २०१७ मा ६८ हजार ४ सय ४१ बिरामी उपचारका लागि आएका थिए।
अस्पतालको तथ्यांक हेर्ने हो भने क्यान्सरका बिरामी दिनानुदिन बढ्दै छन्। अस्पतालले यो वर्ष ७७ हजार ८ सय ३३ जना बिरामीको उपचार गरेको छ जसमा ३ हजार ४ सय १२ जना क्यान्सरको बिरामी भएको पत्ता लागेका छन्।
यहाँ पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा, दोस्रोमा स्तन क्यान्सर र तेस्रोमा फोक्सोको क्यान्सरका बिरामी रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा ऋषिकेशनारायण श्रेष्ठले बताए। श्रेष्ठ भन्छन्, ‘हामीले हेरेको बिरामीमा औसतमा दैनिक ९ जना नयाँ बिरामीलाई क्यान्सर भएको पत्ता लाग्दछ। लास्ट स्टेजमा आउने धेरै छन्। दिनमा ३०० देखि ५०० ओपिडी बिरामी आउने गरेका छन्।’
सुरुमै क्यान्सर पत्ता लगाउन संस्थाले आफ्ना ४२ जिल्लामा रहेका जिल्ला शाखामार्फत र शाखा नभएका संस्था आफैंले क्यान्सर शिविर तथा जनचेतामूलक कार्यक्रम गर्दै आएको छ। त्यसैगरी सिरहा जिल्लाको लहानमा लहान क्यान्सर केयर सेन्टर भक्तपुर क्यान्सर अस्पताल आउटरिच क्लिनिक सञ्चालन भइरहेको छ।
यस सेन्टरले पूर्वका तराई एवम् पहाडी जिल्लाका क्यान्सर रोगीहरूलाई उपचारमा सहज गराएको छ। साथै क्यान्सर उपचार प्रभावकारी बनाउन भक्तपुर क्यान्सर अस्पतालबाट विशेषज्ञ चिकित्सकहरुको प्रत्यक्ष सम्पर्क हुने गरी टेलि मेडिसिन सेवा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।
'क्यान्सरको उपचार महंगो छ, हामीले सर्वसुलभ रुपैँयामा गुणस्तरीय सेवा दिँदै आएका छौँ,' अस्पतालका मेडिकल डाइरेक्टर डा ऋषिकेशनारायण श्रेष्ठले भने। उनले रेडियोथेरापीको लागि अत्याधुनिक लिनायक मेसिन छिट्टै नै बैसाखमा जडान गर्ने तयारीमा रहेको जानकारी दिए।
उनले भने, 'न्युरो(मष्तिष्क–ब्रेन ट्युमर) र थोरासिस(छाती) को क्यान्सर उपचार सेवा पनि सुरु गरिसकेका छौँ। अब वैशाख दोस्रो सातादेखि लिनायक मेसिन ल्याउँदैछौँ। यो मेशिन जडानपछि बिरामीले अझ राम्रो सेवा सुविधा पाउने छन्।'
७५ प्रतिशत क्यान्सरको उपचार भइरहेको अस्पतालमा यो मेसिन जडानपछि ९५ प्रतिशत क्यान्सर उपचार सेवा प्रदान गर्ने बताइएको छ। ४ वटा शल्यक्रिया कक्ष स्थापना भएको अस्पतालमा उपचार गराइरहेका बिरामी तथा बिरामीका कुरुवाका लागि सेवा दिने उद्धेश्यले निःशुल्क बस सेवा पनि दिने गरेको छ अस्पतालले।
जसका लागि अस्पतालको कार्ड भने अनिवार्य रुपमा साथमा राख्नुपर्छ। मेडिकल डाइरेक्टर डा श्रेष्ठ भन्छन्, 'विभिन्न कठिनाइका बाबजुद पनि हामी यहाँसम्म आएका छौँ। दक्ष जनशक्ति हामीसँग उपल्बब्ध छन्। सरकारले रातो किताबमा अलिकति पैसा राख्दियो भने अलि भएपनि सहज हुनेथ्यो।'
उनले मुख्य चुनौती भनेको दातालाई गुहारेर अस्पताल चलाइराख्नु परेको बताए। भौतिक पूर्वाधार, उपकरण, खाना, आवासमा दाताले सहयोग गरिरहेको उनले बताए। 'देशको १५ देखि २० प्रतिशतसम्म क्यान्सर बिरामी थेगिरहेका छौँ, हाम्रो मुख्य उद्धेश्य भनेको अस्पताललाई स्तरीय बनाइ गुणस्तरी सेवा दिनु हो।'
संस्थाको विश्वसनीयता बढाइ उपचारका लागि विदेश जाने नेपालीलाई रोक्नुपर्ने उनको धारणा छ। 'अस्पताल सानो र साँघुरो छ, बनाउनलाई पैसाको कमी छ, छाना फेर्नु छ भूकम्पछि बनाउन सकिएको छैन,' डा श्रेष्ठले भने।