मार्तडी- बाजुराको बूढीनन्दा नगरपालिका–३ नुरीको सिङ्गो गाउँ नै भाइरल ज्वरोले प्रभावित भएको खबर आएपछि आज बिहान स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा पुगेको छ।
सिङ्गो गाउँका मान्छे बिरामी भएको खबर पाएपछि औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। स्वाथ्यकर्मीको टोलीले १०८ को उपचार गरेको बताइएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा गणेश चौधरीले ४८ पुरुष र ६० महिलालाई घर घरमा पुगेर चेक जाँचसहित उपचार गरेको जानकारी दिए।
उपचारका लागि गाउँमा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई र फेज नेपालबाट तीन गरी पाँच स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको ३ नंका वडाध्यक्ष रामबहादुर बोहराले बताए। सिङ्गो गाउँलाई नै उपचार गरिएको अध्यक्ष बोहराले जानकारी दिए। उक्त क्षेत्रका अधिकांश भाइरल ज्वरोको सङ्क्रमणमा परेका फेज नेपालमा कार्यरत अनमी सञ्जु कार्कीले बताइन्।