काठमाडौं– जिल्ला प्रहरी कार्यालय कास्की (पोखरा)ले गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
सरकारले तोकेको शुल्कसिमा विपरित मनपरी रुपमा विद्यार्थीबाट रकम असुलेको भन्दै ठगी मुद्धामा विद्यार्थीको उजुरीपछि अदालतको अनुमति लिएर जिल्ला प्रहरी कार्यालयले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी ओम रानाका अनुसार विद्यार्थीको उजुरीका आधारमा सञ्चालक अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख यूवराज शर्म, लेखाकै हरिमाया पौडेल, कृष्ण घिमिरे र प्रशासनका दिनेश पौडेलविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
उनीहरुविरुद्ध मंगलबार उजुरी दर्ता भएको थियो। यसका साथै विद्यार्थीले आज बुधबार थप १० जनाविरुद्ध पनि उजुरी दिएका छन्। प्रहरीले उनीहरुका विषयमा पनि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। आज उजुरी दायर हुनेमध्येमा कलेजका पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, कर्मचारीहरु तिलक पौडेल, कृष्ण पौडेल, लक्ष्मणप्रसाद शर्मा लगायत छन्।
पक्राउ पुर्जी जारी भएलगत्तै उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालित भइसकेका छन्। तर, हालसम्म कोही पनि पक्राउ भने भएका छैनन्।
सरकारले उपत्यकाबाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क तोकेको छ। तर, कलेजले विद्यार्थीबाट उक्त रकमभन्दा १५ लाखसम्म बढी रकम असुलेको विद्यार्थीको आरोप छ।
विद्यार्थीले उक्त रकम फिर्ता हुनुपर्ने, सरकारले तोके अनुसारको शुल्कमा मात्र लिनुपर्ने लगायतका माग राख्दै प्रहरीमा उजुरी दिएका थिए।
यसका साथै विद्यार्थीले मंगलबार सञ्चालक विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका थिए।
विद्यार्थीहरुले चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियान्ताहरुको सहयोगमा उजुरी दर्ता गराएका हुन्। उजुरी हाल्नेमा प्रितम सुवेदी, विजयवावु शिवाकोटी र अनित सिन्हा छन्।
कलेज सञ्चालकको मिलेमतोमा कलेजका प्रिन्सिपल, प्रशासकीय अधिकृत, लेखा शाखाका प्रमुख लगायतले विद्यार्थीबाट अवैध रुपमा बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन्। विद्यार्थीहरुले अवैध रुपमा उठाएको शुल्कको छानबिन गर्नुपर्ने लगायतका माग राख्दै अभियान्ताको सहयोगमा सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएको बताएका छन्।
तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले आइतबार सडकमा नै उत्रेर विरोध प्रदर्शन गरेका थिए। सन् २०१५ देखियताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै आन्दोलन गर्दै आएका छन्।