रुपन्देही– बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा सुत्केरीलाई लक्षित गरी सुरक्षित मातृत्व अभियान सुरु गरेको छ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा बुटवल–११ बुद्धनगरका श्रमिक महिलालाई पौष्टिक आहार वितरण गर्दै सुरु भएको कार्यक्रम उपमहानगरभरि नै सञ्चालन हुने छ।
पति तथा परिवारसँगै काममा खटिने श्रमिक महिलालाई स्वास्थ्य सचेतना जगाउने, स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गर्नेदेखि सुत्केरी भएकालाई पौष्टिक आहार वितरण गर्दै यस्तो अभियान सुरु गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ। उप–महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले यो अभियानको संयोजन गरिरहेको छ।
‘उप–प्रमुख गर्भवती तथा सुत्केरी भेट कार्यक्रम’ शिर्षकमा सुरु भएको यो अभियान उपमहानगर मातहतका सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीमार्फत १९ वटै वडामा विस्तार गरिने छ।
बिहीबार बुटवल–११, बुद्धनगरमा सुत्केरी भएकी श्रमिक महिला लक्ष्मी कुवँर, मनिषा परियारलाई पौष्टिक आहार तथा क्याल्सियम, आइरनलगायत सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यले संयुक्त रुपमा कार्यक्रमको शुभारम्भ गरे।
सो अवसरमा प्रमुख सुवेदीले महिला तथा शिशुले पाउने आवश्यक मातृत्व सेवालाई सुरक्षित बनाउँदै समयमै तथा स्तरीय स्वास्थ्य सेवा पाउनेगरी नगरका सबै स्वास्थ्य केन्द्रमा विशेष निर्देशन गरिएको बताए। महिलाको सम्मानजनक मातृत्वका लागि समुदायले समेत पहल गर्न जरुरी रहेको बताउँदै प्रमुख सुवेदीले बच्चा जन्माउँदा हुने हेलचेक्य्राइँ र हानिकारक उपचारबाट जोगाउनेगरी अभियान चलाउन स्वास्थ्यकर्मीलाई आग्रह गरे।
नगरमा रहेका नगर स्वास्थ्य केन्द्र तथा अरु स्वास्थ्य संस्थाहरुमा सम्मानजनक प्रसूति सेवा प्रदान गर्ने गरी स्वास्थ्य सेवा प्रदायकलार्ई तालिम र परामर्श दिने अभियानसमेत सुरु गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए।