काठमाडौं– विद्यार्थीसँग मनपरी शुल्क उठाएको भन्दै विवादमा आइरहेको गण्डकी मेडिकल कलेजले नेपाल मेडिकल काउन्सिलका विगतका पदाधिकारीसँगको मिलेमतोमा चिकित्सा शिक्षामा अनियमितता गरिरहेको तथ्या फेला परेको छ।
मेडिकल कलेजका सञ्चालक खुमा अर्यालले काउन्सिलका विगतका पदाधिकारीसँगको मिलेमतोमा विद्यार्थी भर्नाको कोटा, शुल्क लगायतका विषयमा अनियमितता गरेको फेला परेको हो।
गण्डकी मेडिकल कलेजको अनियमिततामा साथ दिनेमा काउन्सिलका तत्कालिन रजिष्ट्रार डा नीलमणि उपाध्याय थिए। ८ वर्षसम्म काउन्सिलको रजिष्ट्रार रहेका उपाध्यायले गण्डकी सहित अन्य मेडिकल कलेजको अनिमिततामा साथ दिएको चिकित्सा शिक्षासम्बन्धि उच्चस्तरिय जाँचबुझ आयोगको प्रतिवेदनले देखाएको छ।
विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले गण्डकी मेडिकल कलेजमा डा उपाध्यायले श्रीमतिलाई जागिर खुवाएको समेत फेला पारेको छ।
डा उपाध्याय काउन्सिलमा ०६४ साल कात्तिक १३ देखि ०७२ कात्तिक ११ गतेसम्म रजिष्ट्रारका रुपमा कार्यरत थिए। यो अवधिमा डा उपाध्यायले गण्डकी मेडिकल कलेजको अनियमिततामा पटक पटक साथ र सहयोग गर्दै आएको आयोगले फेला पारेको हो।
‘यस अवधिमा कानूनभन्दा बाहिर गएर काउन्सिल जस्तो स्वतन्त्र कानूनी निकायलाई संचालन गर्दा गलत मार्गतिर लैजाने काममा मुख्य भूमिका डानीलमणि उपाध्याय कै देखिन आयो’ आयोगको प्रतिवेदनमा भनिएको छ।
काउन्सिल रजिष्ट्रारको श्रीमतिलाई जागिर, काम नगरि तलब

काउन्सिलका तत्कालिन रजिष्ट्रार डा नीलमणि उपाध्याय
डा उपाध्यायले पदीय दुरुपयोग गरी पत्नी डा सरिता उपाध्यायलाई गण्डकी मेडिकल कलेजमा जागीर दिलाएको पनि प्रतिवेदनमा उल्लेख छ।
‘उहाँकी पत्नी डा सरिता उपाध्यायलाई मेडिकल काउन्सिलका रजिष्ट्रारको नाताले सरकारी पद र ओहोदाको दबाब दिई गण्डकी मेडिकल कलेज, पोखरामा नियुक्ति गरी काम नै नगराई तलव भत्ता खुवाएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा रहेको समयमा श्रीमती सरिता उपाध्यायलाई गण्डकी मेडिकल कलेजको मेनेजर पदमा नियुक्ति दिलाई काठमाडौं अफिसमा काम गर्ने भनेर काम नै नगरी महिनाको २५ हजार तलव खुवाउने गरेको देखिन आयो।’
श्रीमतिलाई जागिर लगाएका उपाध्यायले कलेज निरीक्षणका क्रममा मापदण्ड र पूर्वाधार नपुगे पनि विद्यार्थी कोटा बढाउन साथ दिएको आयोगले फेला पारेको छ। ‘मेडिकल कलेजको अनुगमनका क्रममा समेत अनियमिता गरेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘काउन्सिलको रजिष्ट्रारका रुपमा दुई कार्यकाल काम गर्दा डा नीलमणिले कानूनभन्दा बाहिर गएर अनियमितता गरेको देखिन्छ।’
आयोगले डा उपाध्यायले मेडिकल शिक्षाको क्षेत्रमा अनियमितता भित्राउनमा मुख्य भूमिका निर्वाह गरेको भन्दै कारबाहीको सिफारिस गरेको छ। तर, सरकारले हालसम्म डा उपाध्यायलाई कारबाही गरेको छैन। काउन्सिलका पदाधिकारीलाई साथमा लिएर मापदण्ड र पूर्वाधार नपुगेको कलेजमा विद्यार्थीसँग मनपरी शुल्क उठाइरहेको कलेज सञ्चालकलाई समेत कारबाहीको दायरामा ल्याउन सकेको छैन।
विद्यार्थीको उजुरीपछि बुधबार कलेजका सन्तोष खनाल र लक्ष्मण शर्मा भने पक्राउ परेका छन्। उनीहरु कलेजका क्रमशः सिइओ र परीक्षा नियन्त्रक हुन्। सरकारले तोकेको शुल्कसीमा विपरीत मनपरी रुपमा विद्यार्थीबाट रकम असुलेको भन्दै ठगी मुद्धामा विद्यार्थीको उजुरीपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई पक्राउ गरेको हो।