काठमाडौं - तीन दिनदेखि नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको रगतमा कडा खालको संक्रमण भएको चिकित्सकहरुले बताएका छन्।
ज्वरो तथा पखालाको समस्या देखिएपछि उनलाई उपचारका लागि मंगलबार साँझ नर्भिक लगिएको थियो। अस्पतालमा परीक्षणका क्रममा उनको शरीरमा कडा संक्रमण भेटिएको हो। संक्रमण देखिए लगत्तै चिकित्सकले उनलाई संक्रमण घटाउने औषधि दिएका छन्।
संक्रमणका कारण ९१ वर्षे शाहको सेता रक्तकोषको मात्रा बढेर ३० हजार प्रति एमसिएल पाइएको थियो। सामान्य अवस्थामा यो उमेरको व्यक्तिमा ३ हजार देखि ५ हजार प्रति एमसिएल सेता रक्तकोष हुनुपर्छ।
औषधि चलाएपछि अहिले उनको स्वास्थ्यमा सुधार आइरहेको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए।
उनको उपचारमा डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. ब्रजेन्द्र श्रीवास्तव, डा मधु घिमिरे लगायतका टोली खटिएको छ।