पोखरा- गण्डकी मेडिकल कलेजका सञ्चालकसहित २ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ। कास्की प्रहरीले बिहीबार उनीहरुविरुद्ध जिल्ला अदालत कास्कीमा ठगी मुद्दा दर्ता गराएको हो।
बुधबार पक्राउ परेका पूर्वसिइओसमेत रहेका सञ्चालक सन्तोष खनाल र परीक्षा नियमन्त्रक समेत रहेका लक्ष्मण शर्माविरुद्ध प्रहरीले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो।
सरकारले तोकेको दरभन्दा १५ लाख रुपैयाँभन्दा बढी रकम असुलेको भन्दै विद्यार्थीहरूले मंगलबार प्रहरीसमक्ष उजुरी गरेका थिए।
प्रहरीले कलेजका सञ्चालकसहित १० जनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ। तर अन्य ८ जना भने अझसम्म पक्राउ परेका छैनन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि कलेज सञ्चालकविरुद्ध विद्यार्थीले उजुरी दर्ता गराएका छन्।
कलेजका अध्यक्ष खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखाप्रमुख युवराज शर्मा, लेखाकी कर्मचारी हरिमाया पौडेल, प्रशासनका दिनेश पौडेल, पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, कलेजका कर्मचारीहरु तिलक पौडेल, लक्ष्मणप्रसाद शर्मा, कृष्ण पौडेल र कृष्ण घिमिरेविरुद्ध प्रहरीको पक्राउ पुर्जी जारी भएको छ।