चितवन– चितवनमा पहिलो पटक डिएनए परीक्षण गर्ने प्रविधि भित्रिएको छ। भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा डिएनए परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेसिन’ भित्रिएको हो।
अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए परीक्षण गर्ने मेसिन ल्याइएको अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले जानकारी दिए।
‘पाठेघरको ह्युमन प्यापिलोमा स्क्रिन गर्न मेसिन भित्र्याइएको हो’ उनले भने, ‘पाठेघरको पानी वा मासु लिएर एचपिभी भाइसरको मात्रा पत्ता लगाउन यो मेसिन प्रयोग गरिनेछ।’
यसअघि चितवनमा यो प्रविधि नहुँदा परीक्षणका लागि भारत जानुपर्ने अवस्था रहेको र मेसिन भित्रिएसँगै यो बाध्यता हटेको अस्पतालले जनाएको छ। अब सबै किसिमका डिएनए परीक्षण हुने अस्पतालका निर्देशक आचार्यले बताए।
यसैबीच नयाँ डिएनए मेसिनको स्वास्थ्य सचिव डा पुष्पा चौधरीले निरीक्षण गरेकी छिन्। मेसिन निरीक्षणपछि सचिव चौधरीले मिडिया सुनेभन्दा अस्पतालले धेरै राम्रो काम गरेको भन्दै यसलाई मुलुककै रिफरल सेन्टर बनाउनुपर्ने बताइन्।