काठमाडौं– विश्व मृगौला दिवसको अवसरमा स्टार हस्पिटल, सानेपा ललितपुरले नयाँबजार किर्तिपुरमा मिर्गौला रोग सम्बन्धि स्वास्थ्य शिविरको गरेको छ । नयाँबजार क्लब किर्तिपुर तथा नयाँ छहारी नेपाल किर्तिपुरसँगको सहकार्यमा उक्त शिविर गरिएको हो।
शिविरमा स्टार हस्पिटलमा कार्यरत बरिष्ठ मिर्गौला रोग विशेषज्ञहरु एसोसिएट डा. लक्ष्मण प्रसाद अधिकारी र डा. अनिल पोखरेलको नेतृत्वमा अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
शिविरका अवसरमा स्वास्थ्य जाँच गराएका बिरामीहरुका लागि अस्पतालले निःशुल्क रुपमा सुगर, पिसाब तथा रगतको जाँचको व्यवस्था गरेको थियो । सामाजिक स्वास्थ्य कार्यक्रम अन्तर्गत गरिब, निमुखा, विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भई सरल र सुलभ दरमा स्वास्थ्य सेवाबाट वञ्चित विरामीहरुलाई लक्षित गरि आयोजना गरिएको शिविरमा करिब ५०० जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए।
विगत एक दशकदेखि निरन्तर स्वास्थ्य सेवामा समर्पित अस्पतालले अत्याधुनिक उपकरण तथा उपचार पद्दतीबाट मिर्गौला रोग सम्बन्धी सम्पूर्ण उपचार गर्न सक्षम रहेको र आगामी दिनहरुमा पनि यस्तै किसिमका स्वास्थ्य सेवा कार्यक्रमहरु हस्पिटल लगायत देशका विभिन्न स्थानहरुमा सञ्चालन गर्ने अस्पतालका व्यवस्थापक हरि ढकालले बताएका छन्।