दाङ- नेपाल कम्युनिस्ट पार्टी संसदीय दलकी सचेतक तथा संघीय सांसद शान्ता चौधरी अचानक बेहोस भएपछि अस्पतालमा भर्ना गरिएको छ।
मंगलबार बिहान तुलसीपुरस्थित सरकारी वकिलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गरेको केहीबेरमै उनी बेहोस भएकी हुन्।
हाल उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए। दहितले भने, ‘अझै रिपोर्ट आएको छैन, तर अहिले उहाँ बोल्न थाल्नुभएको छ।’
सरकारी वकिलकै कार्यालयमा बेहोस भएलगतै चौधरीलाई राप्ती प्रादेशिक अस्पतलमा पुर्याइएको थियो।
यसअघि संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा पनि उनी बेहोस भएकी थिइन्।