काठमाडौं- संघीय संरचना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ संरचना निर्माणको काम अगाडि बढाइरहेको टिमले केन्द्रीयस्तरका अस्पतालमा १२औं तहको दरबन्दी थप्ने नयाँ प्रस्ताव गरेको छ।
केन्द्रीय तहका अस्पतालमा हाल ११ औं तहको कर्मचारी निर्देशक हुने व्यवस्था छ। तर, मन्त्रालयले अस्पतालमा ११ औं तहका कर्मचारी धेरै हुने भएकाले १२ औं तहको दरबन्दी थप्ने तयारी गरेको हो।
स्वास्थ्य सेवा अन्तर्गत ११ औं तहका कर्मचारीको संख्या २ सय ९३ जना रहने भएकाले ११ औं तहका कर्मचारीको वितृविकासमा सहयोग मिलोस भनेर नयाँ प्रस्ताव गरिएको मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेलले जानकारी दिए।
उनका अनुसार केन्द्रिय स्तरमा रहेका वीर, परोपकार प्रसूति तथा स्त्रीरोग, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, कान्ति बाल, मानसिक लगायतका केन्द्रिय अस्पतालमा १२ औं तहको दरवन्दी थप्ने तयारी भएको हो।
‘यो विषयमा सकारात्मक छलफल अगाडि बढेको छ,’ उनले भने, ‘उपप्रधान एवं स्वास्थ्य मन्त्री पनि यो विषयमा पोजेटिभ हुनुहुन्छ।’ उनले यसका लागि आवश्यक गृहकार्य समेत भइरहेको जानकारी दिए।
सरकारले यो प्रस्ताव पास गरेमा स्वास्थ्य सेवामा सचिव सरहका १२ औं तहका पद एक दर्जन भन्दा बढी हुने छ। मन्त्रालयमा नै १२ औं तहका ४ वटा दरबन्दी राख्ने नयाँ प्रस्ताव समेत गरिएको छ।
संघीय संरचना अनुसार यसअघि बनाइएको संरचनामा समस्या आएपछि मन्त्रालयले मन्त्रालय र माताहतमा रहको स्वास्थ्य सेवा विभाग खारेज गर्दै रोग नियन्त्रण केन्द्र बनाउने नयाँ संगठन संरचानको मस्यौदा समेत तयार पारिसकेको छ। रोग नियन्त्रण केन्द्रको नेतृत्व पनि १२ औं तहका कर्मचारीले नै गर्ने प्रस्ताव गरिएको छ।