जनकपुर- जनकपुर अञ्चल अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालको वातावरण दिनभर तनावग्रस्त बनेको छ। मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै उपचार गर्ने डाक्टरको तस्बिर लिन खोजेपछि स्थिति तनावग्रस्त बनेको हो।
धनुषाको मिथिला नगरपालिका-६ का ५७ वर्षीय रामनारायण खत्वेको उपचारका क्रममा मंगलबार निधन भएको थियो।
हृदयघात भएका खत्वेलाई मंगलबार बिहान साढे १० बजे उपचारको लागि अस्पतालको अकास्मिक कक्षमा भर्ना गरिएको थियो। भर्ना भएको आधा घन्टापछि उनको निधन भएको थियो।
चिकित्सकले समयमा उपचार नगर्दा ज्यान गएको भन्दै खत्वेका जेठा छोरा ३१ वर्षीय रमेश र २३ वर्षीय राजारामले चिकित्सकको फोटो खिच्ने प्रयास गरेका थिए।
फोटो खिच्न खोजेपछि डाक्टर र मृतकका छोराहरुबीच भनाभन भएको थियो। भनाभनले उग्र रुप लिएपछि चिकित्सकले नै पहिले हातपात गरेको मृतकका आफन्तको आरोप छ। ‘बुबालाई भर्ना गरेपछि चिकित्सकले भनेअनुसार सबै प्रक्रिया पूरा गरें। तर समयमा उपचार गरेनन्, आलटाल गरे,' जेठा छोरा रमेशले भने, ‘चिकित्सक अलिकता यताउता चेक गरेर कुर्चीमा गएर बसे। एकैछिनमा बुबाको मृत्यु भयो।’
शव घर लैजाने तयारी भएपछि जेठा छोरा रमेशले भाइ राजारामलाई त्यहाँ बसेका डाक्टरको फोटो खिच्न र डाक्टरको नाम सोधेर आउन लगाए। उनले भने, ‘पछिपछि म पनि गए। भाईले फोटो खिच्न मोबाइल तेर्स्याएपछि काउन्टरमा बसेका डाक्टरले मोबाइल खोसे। र अन्य दुईजना डाक्टरले हातपात गर्न थाले। पछि इमरजेन्सीमा रहेका सबै डाक्टरले हामी दुबैलाई कुटपीट गरे।’
चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै तस्बिर खिच्न खोजेपछि अस्पतालमा तनाव भएको थियो। त्यसपछि मृतकका परिवारले शव नउठाउने भन्दै आकस्मिक कक्षको गेटमा शव राखेर कुटपीट गर्ने चिकित्सकलाई कारबाही माग गर्दै प्रदर्शनमा उत्रेपछि मंगलबार अस्पताल दिनभर तनावग्रस्त बनेको थियो।
यता इमर्जेन्सीमा डिउटीमा रहेका चिकित्सक डा. सावन यादवले आफूहरुले समयमा उपचार गर्दा समेत बिरामी गम्भीर भएको कारण बचाउन नसकेको बताए। उपचारका क्रममा कुनै लापरबाही नगरिएको समेत उनले बताए। मृतकका आफन्त फोटो खिच्न आएका बेला हो-हल्ला भएको तर कसैलाई कुटपिट नभएको उनको दाबी छ।
पीडित पक्षले इमर्जेन्सी कक्षमा सीसीटीभी क्यामेरा जडान भएकाले त्यसमा प्रमाण सुरक्षित भएको भन्दै छानबिन गरी दोषी चिकित्सकलाई कारबाही र क्षतिपुर्तिको माग गरेका छन्।
घटना पश्चात् अस्पताल प्रशासन र पीडित पक्षको छलफल पछि छानबिन गर्न १० सदस्यीय समिति गठन भएको छ।
मेडिकल सुपरिटेन्डेन्ट डा. नागरेन्द्र यादवको संयोजकत्वमा दुबैपक्षबाट ५-५ जना रहने गरी १० सदस्यीय टोली गठन भएको हो।
छानविन समिति गठन पश्चात पीडित परिवारले शव उठाएका छन्।