काठमाडौं– सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई पदबाट हटाएको छ। प्रतिष्ठानका सहकुलपति समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसका आधारमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रौनियारलाई पदबाट हटाउने निर्णय गरेका हुन्।
यसअघि फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको सञ्चालक समिति (सिनेट) बैठकले सर्वसम्मतिबाट प्रतिष्ठानका उपकुलपति पदबाट डा रौनियारलाई हटाउने निर्णय गरेको थियो। सिनेटको सोही निर्णयको आधारमा स्वास्थ्यमन्त्री यादवले उपकुलपति रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेका थिए।
सिनेट बैठकको निर्णय कार्यान्वयनको लागि सहकुलपतिले प्रधानमन्त्री समक्ष सिफारिस गर्ने र सोही आधारमा निर्णय हुने प्रावधान रहेको छ।