पोखरा– उच्च अदालत पोखराले गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश रामचन्द्र यादवको इजलासले अर्यालको पक्षमा आदेश जारी गर्न अस्वीकार गरेको हो।
ठगीसम्बन्धी अपराधको किटानी जाहेरी दर्ता भएको र जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको भन्दै उच्च अदालतले सञ्चालक अर्यालसहितका पक्षमा आदेश जारी गर्न अस्वीकार गरेको हो।
बढी शुल्क लिएर ठगी गरेको भन्दै मेडिकल कलेजका विद्यार्थीहरुले सञ्चालक अर्यालसहित कलेजका अन्य सञ्चालक तथा कर्मचारी विरुद्ध किटानी जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्रहरीले फागुन २३ गते पक्राउ पुर्जी जारी गर्न जिल्ला अदालत कास्कीबाट अनुमति लिएको थियो।
सोही आधारमा प्रहरीले कलेजका केही सञ्चालक र कर्मचारीलाई नियन्त्रणमा लिएको थियो भने सञ्चालक अर्यालसहित अन्य व्यक्ति खोजिको सूचीमा छन्। प्रहरीले पक्राउका लागि खोजी गर्न थालेपछि अर्याल पक्ष त्यसबाट बच्न उच्च अदालत पोखरा पुगेका थिए।
तर, उच्च उदालतले जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीले अर्याल लगायतका अन्यको अधिकार हनन नगर्ने भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
यो आदेशसँगै अर्याल सहित अन्य कर्मचारीलाई पक्राउ गर्ने बाटो खुलेको छ।