रुपन्देही– प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पतालले कम शुल्क लिएर गुणस्तरीय सेवा दिनुपर्ने बताएका छन्। सस्तो लोकप्रियताका लागि निःशुल्क भन्ने तर गुणस्तरीय सेवा नदिने अस्पतालतर्फ संकेत गर्दै उनले अस्पतालहरुले कम शुल्कमा राम्रो सेवा दिनुपर्ने बताए।
प्रदेशस्तरीय अस्पतालको चौमासिक समीक्षा गोष्ठी उद्घाटन गर्दै उनले स्वास्थ्य निर्देशनालयदेखि सबै क्षेत्रमा कर्मचारी अभाव रहेको बताए। ‘मलाई यसबारे राम्रो जानकारी छ, सबैका गुनासा सुनेको छु तर उपाय नै नभएपछि के गर्ने?,’ मन्त्री बरालले भने।
कर्मचारी समायोजनपछि कर्मचारीको समस्या समाधान हुने बताउँदै मन्त्री बरालले पहिलो वर्ष भएकोले केही समस्या भएको हुनसक्छ तर अर्काे वर्षदेखि समस्या नहुने बताए।
गोष्ठीमा समाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीले जनशक्तिको अभावले काममा समस्या भएको बताए। सचिव ज्ञवालीले भने, ‘संघमा चाहिने कर्मचारी प्रदेशमा छन्, प्रदेशमा चाहिने कर्मचारी संघमा छन्। यस्तो अवस्थामा काम गर्न समस्या छ।’
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले एकल प्रयासबाट केही सम्भव नहुने नभएकोले समूहिक प्रयासले नै समस्या समाधान गर्न सकिने बताए। उनले औषधि बजेट लगायतका विषयमा जानकारी गराएका थिए ।
स्वास्थ्य निर्देशनालय प्रदेश नं ५ का प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक दिनेशकुमार चापागाईंले बजेट भए पनि खर्च गर्न समस्या भएको बताए।