काठमाडौं- अन्तत: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले उपकुलपतिसहित सबै पदाधिकारी पाउने पक्का भएको छ। न्याम्सको उपकुलपतिमा नियुक्ति भएर पनि पत्र पाउन नसकेका डा डिएन शाहले अन्य पदाधिकारीमा सहमति भएसँगै उपकुलपतिको पत्र पाउने भएका छन्।
सत्ता साझेदार दल नेकपा र संघीय समाजवादी फोरमबीच उपकुलपतिसहित पदाधिकारीहरुका विषयमा सहमति भएको हो। सहमतिअनुसार न्याम्सको रेक्टारमा डा सुवोध अधिकारी, रजिष्ट्रारमा डा दिलिप शर्मा र डिनमा डा पियुस दाहाल नियुक्त हुने भएका छन्।
यस्तै वीर अस्पतालको निर्देशकमा डा केदार सेञ्चुरी र ट्रमा सेन्टरका निर्देशकमा डा प्रमोद यादव नियुक्त भएको उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवका प्रेस सहयोगी महेश चौरसियाले जानकारी दिए।
उनका अनुसार नवनियुक्त पदाधिकारीले सम्भवत: भोलि पत्र बुझ्ने छन्। ‘उपकुलपतिमा नियुक्त भएका डा शाह र डा सेञ्चुरी उपत्यका बाहिर हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरु भोलि काठमाडौं फर्केपछि पत्र बुझ्नुहुन्छ होला।’
न्याम्समा साढे सात महिनादेखि उपकुलपति नियुक्त हुन सकेको थिएन।
रेक्टरमा नियुक्ति पाउन लागेका डा अधिकारीले हालसम्म निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्।
डा शाह न्याम्सभन्दा बाहिरका प्राध्यापक हुन्।
उपकुलपतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको संयोजकत्वमा गठित समितिले असोजमा नै ३ जनाको नाम सिफारिस गरेको थियो।
तर, लामो समयसम्म पनि उपकुलपति नियुक्त हुन सकेको थिएन।
न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उपकुलपतिका लागि छनोटमा परेका ६ जनामध्ये कार्ययोजना प्रस्तुतिमा उत्कृष्ट रहेका ३ जनाको नाम सिफारिस गरेका थिए।
उपकुलपति छनोट समितिले एक नम्बरमा डा डिएन शाह, दुई नम्बरमा डा ढुण्डी पौडेल र तीन नम्बरमा डा अजित रायमाझीको नाम सिफारिस गरेको थियो।
डा शाह हाल ग्रान्डी अस्पतालमा कार्यरत छन्।
समितिले उपकुलपतिका लागि आवेदन दिएका २२ जनामध्ये ६ जनालाई प्रारम्भिक रुपमा छनोट गरेको थियो।
मन्त्रालयले गत २९ गते उपकुलपतिका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको थियो।
तीन सदस्यीय छनोट समितिमा मन्त्री उपेन्द्र यादव, प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटा सदस्य थिए।
यी थिए २२ प्रतिस्पर्धी
१) प्रा.डा. सीताराम चौधरी
२) प्रा.डा. गणेशबहादुर गुरुङ्ग
३) प्रा.डा. स्वयं प्रकाश पण्डित
४) प्रा.डा. अनिल कुमार मिश्र
५) डा. पियुष दाहाल
६) प्रा.डा. श्रीकृष्ण गिरी
७) प्रा.डा. बुलन्द थापा
८) प्रा.डा. गेहनाथ बराल
९) डा. राम परीक्षण यादव
१०) प्रा.डा. किरण मानन्धर
११) प्रा.डा. विधाननिधि पौडेल
१२) प्रा.डा. रमिला श्रेष्ठ
१३) प्रा. डा. विजय कुमार शर्मा
१४) प्रा.डा. यहुनचन्द्र शिवाकोटी
१५) डा. विश्वनाथ यादव
१६) डा. देवनारायण शाह
१७) प्रा.डा ढुण्डिराज पौडेल
१८ प्रा. डा. अजित रायमाझी
१९) प्रा.डा. जागेश्वर गौतम
२०) प्रा.डा. रेवती रमण मल्ल
२१) डा. पुकार चन्द्र श्रेष्ठ
२२) डा. भोलाराम श्रेष्ठ