काठमाडौं– गण्डकी मेडिकल कलेजले शुल्कका विषयमा बदमासी गरेको नेपाल मेडिकल काउन्सिलले गरेको अध्ययनका क्रममा फेला परेको छ। कलेजको शुल्कका विषयलाई लिएर विद्यार्थीले आन्दोलन गरेपछि काउन्सिलको टोलीले स्थलगत अध्ययन गरेको थियो।
काउन्सिल टोलीले अध्ययनका क्रममा कलेजले विद्यार्थीसँग काउन्सिलको रजिष्ट्रेसनका लागि लिनुपर्ने ३ हजार रुपैयाँ पनि ५० हजारसम्म लिने गरेको फेला पारेको छ। कलेजले लिन मिल्न शिर्षकमा १६ गुणासम्म बढी रकम लिएको छ भने लिनै नपाइने शिर्षकमा समेत लाखौं उठाइरहेको काउन्सिलको टोलीले फेला पारेको छ।
काउन्सिलले अध्ययनका क्रममा फेला पारेका तथ्यालाई आधार मानेर प्रतिवेदन बनाएको छ। उक्त प्रतिवेदनपछि काउन्सिलले नियामक निकाय त्रिभूवन विश्वविद्यालयलाई विद्यार्थीबाट बढी उठाएको रकम फिर्ता गर्न र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ।
काउन्सिलले पठाएको उक्त पत्र शिक्षा मन्त्रालयमा समेत पठाइएको छ। त्रिविबाट स्वास्थ्यखबरपत्रिकालाई प्राप्त उक्त पत्रमा विद्यार्थीबाट बढी लिएको शुल्क फिर्ता वा समायोजन गर्न तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाइ कलेजलाई अविलम्ब नियमन गर्न अनुरोध गरिएको छ।
‘आफूले सम्बन्धन दिएको कलेजलाई जबसम्म विषयगत स्पष्ट नीति बनाई पारदर्शी प्रक्रियाको अबलम्बन गर्न बाध्य पारिदैन, तबसम्म कलेजले अनियमितता गर्ने अवसर पाइरहन्छ,’ काउन्सिलले उपकुलपति तीर्थ खनियालाई लेखेको पत्रमा उल्लेख छ।
उक्त पत्रमा काउन्सिलको टोलीले अध्ययनका क्रममा भेटेको अनियमतता, बदमासी र समस्यालाई बुँदागत रुपमा समेत उल्लेख गरिएको छ।
कलेजले स्थानीय विद्यार्थीसँग पनि छात्रावास र यातायातको साधनको रुपमा शुल्क उठाउने गरेको अध्ययनका क्रममा टोलीले फेला पारेको छ।
काउन्सिलले फागुन ११ मा अध्ययानका लागि सदस्यहरु विश्वराज दवाडी, कालुसिंह खत्री र सुनीलकुमार शाह सदस्य रहेको टोली खटाएको थियो। उक्त टोलीले काउन्सिलमा १५ गते प्रितवेदन बुझाएको थियो।
विद्यार्थीबाट उठाएको पैसा व्यक्तिगत खातामा
काउन्सिलले अध्ययनका क्रममा विद्यार्थीबाट अवैध रुपमा विभिन्न शिर्षकमा उठाएको पैसा कलेजले व्यक्तिगत खातामा जम्मा गर्ने गरेको समेत भेटिएको छ।
‘विद्यार्थील विभिन्न शिर्षकमा अध्ययनका क्रममा बुझाउने शुल्क कलेजको बैंक खातामा जम्मा गर्नुपर्ने हो,’ त्रिविलाई पठाइएको पत्रमा उल्लेख छ, ‘तर, विद्यार्थीले जम्मा गर्नुपर्ने रकम कलेजको बैंक खातामा नभई सोझै कलेज सञ्चालकको व्यक्तिगत खातामा जम्मा गरेको समेत अनुसन्धानका क्रममा फेला परेको हुँदा कलेज प्रशासनको आर्थिक पारदर्षिता माथि नै गम्भिर प्रश्न खडा भएको छ।’
हेरौं काउन्सिलले त्रिविलाई पठाएको पत्र



यो पनि पढौं :