काठमाडौं– सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपाल (सान) को २०औं वैज्ञानिक सम्मेलन ‘सानकोन २०१९’ काठमाडौंमा सुरु भएको छ।
बिरामीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस् बनाउने लगायतको चिकित्सा विधा एनेस्थेसियामा आउने चुनौती र यसका समाधानलाई मूल मन्त्र बनाई बिहीबारबाट सम्मेलन सुरु भएको हो।
आइतबारसम्म चल्ने सम्मेलनमा एक सय वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ। स्वदेश तथा विदेशबाट गरी ३ सय ७० जना विशेषज्ञ डा सम्मेलनमा सहभागी हुने सम्मेलनका आइटी अध्यक्ष डा नवीन्द्रराज विष्टले जानकारी दिए।
सम्मेलनमा अमेरिका, बेलायत, चीन, स्वीजरल्यान्ड, जापान, कोरिया, युएई, साउदी अरेबिया, सिंगापुर, मलेसिया, श्रीलंका र भारतका ५८ जना प्रतिनिधि सहभागी रहेको सोसाइटीका अध्यक्ष प्रोफेसर डा विश्वास प्रधानले जानकारी दिए।
जटिल रोग भएका बिरामीलाई सुरक्षित पद्धतिबाट एनेस्थेसिया दिने, विभिन्न तरिकाबाट दुखाइ कम गर्ने र त्यस्ता बिरामीलाई क्रिटिकल केयर सेवा दिने बारेमा बृहत् वैज्ञानिक छलफल गरिने प्रोफेसर डा रविराम श्रेष्ठले बताए।
यसका साथै सम्मेलनमा कार्य कुशलता बढाउनका लागि ३ वटा तालिमसमेत दिइने कार्यतालिका रहेको छ। जसअन्तर्गत एउटा हो, नशा पत्ता लगाई अल्ट्रासाउन्डको प्रयोग गरी दुखाइ कम गर्ने तालिम। अल्ट्रासाउन्ड गाइडेड रिजनल एनेस्थेसिया एक दिनको हुने यसका कोर्डिनेटर डा नवीन्द्रराज विष्टले बताए।
यसैगरी आइसियूसम्बन्धी दुई दिने बेसिक आइसियू कोर्सले बिरामीको क्रिटिकल केयरमा धेरै लाभदायी हुने यसका कोर्डिनेटर डा प्रमेशसुन्दर श्रेष्ठले बताए।
श्वासप्रश्वास नलीसम्बन्धी डिफिकल्ट एयरवे मेनेजमेन्ट तालिम विभिन्न विदेशबाट आएका प्रशिक्षकहरुले दिने डा विभूश श्रेष्ठले बताए।
३२ वर्ष अगाडि स्थापना भएको यो संस्था वल्र्ड फेडेरेसन अफ सोसाइटी अफ एनेस्थेसियोलोजिस्टको सदस्य पनि हो।