दाङ - जिल्लाका ग्रामीण समुदायमा बसोवास गर्ने महिलामा पाठेघरसम्बन्धी समस्या बढी रहेको पाइएकाे छ। तुलसीपुर उपमहानगरपालिका–१ को भ्युडर सुनपुरमा आयोजना गरिएकाे निःशुल्क बृहत् स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामा याे समस्या बढी देखिएकाे हाे।
तुलसीपुर उपमहानगरपालिका–१ पवन नगरकी ६५ वर्षीया टुन्कीकुमारी भण्डारी १५ वर्षको कलिलो उमेरमा घर नजिकै लड्दा पाठेघर खसेको रहेछ तर उनले घरका कुनै सदस्यसँग आफ्नो यस्तो समस्या बताइनन्। अहिले घर नजिकै शिविर आएपछि उपचार गराउन आइन्। उनलाई डाक्टरले शल्यक्रिया गर्नुपर्ने बताएका छन्।
त्यस्तै सोही वडाकै ५५ वर्षीया काली नेपालीले पनि १६ वर्षको कलिलो उमेरदेखि आङ खस्ने समस्याबाट पीडित भएको बताइन्। उनको १४ वर्षको उमेरमा विवाह भएको रहेछ। पहिलो सन्तान जन्मेको समयमा धेरै दिन सुत्केरी बस्न पनि नपाएको उनले सुनाइन्।
'कामको बोझले एक्कासि पाठेघर खसेछ शुरुमा त थाहा भएन, रगत बग्ने, तल्लो पेट दुख्ने भई रहन्थ्यो त्यति भए पनि लाजका कारण घरमा पनि कसैलाई भनिन्। माइत गएको बेला पनि कसैसँग भन्न सकिन सहदै बसे' उनले भनिन्। तर पाँच वर्ष अघिमात्र घरमा श्रीमान्लाई भने उनले यस विषयमा भनेकी थिइन्हाँ। 'त्यसपछि श्रीमान्ले नेपालगञ्ज उपचारको लागि लग्नुभयो । आङ खसेको छ भनी रिङ राखेर पठाई दिए तर अहिले सञ्चो भएन् । अहिले पनि रगत बग्ने, दुख्ने भएपछि गाउँमा शिविर आएको भनी थाहा पाएपछि जचाउन बुहारीसँगै आएकी छु डाक्टरले शल्यक्रिया गर्नुपर्छ भन्नुभयो' उनले भनिन्।
शिविरमा दुई महिला मात्र होइन यो समस्याबाट पीडित धेरै महिला उपचारको लागि यहाँ आएका छन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिका–२ खैरीपुरकी ६० वर्षीया मीनाकुमारी विष्टले पनि पाठेघरको उपचारको लागि आफू यहाँ आएको बताइन्।
रोग लुकाउने प्रवृत्ति, आर्थिक अभावका कारण वर्षौंदेखि सो रोगको उपचार गर्न नसकेका दाङका महिलालाई लक्षित गर्दै तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको समन्वयनमा तुलसीपुर उपमहानगरपालिका वडा नं १र २ को संयुक्त आयोजनामा शुक्रबार सो क्षेत्रमा विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो।
शिविरमा ४९१ महिलाको पाठेघरसम्बन्धी चेक जाँच गरिएकोमा १७८ महिलामा पाठेघरको समस्या, २७ को पाठेघर खसेको र तीन जनामा पाठेघरको क्यान्सरको शङ्का र अन्यमा पाठेघरको सङ्क्रमण देखिएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले जानकारी दिए। रासस