काठमाडौं- नेपालमा प्रथम पटक अन्तर्राष्ट्रिय स्तरको आयुर्वेद चिकित्सा कार्यशाला हुने भएको छ। चैत २२ र २३ गते पतञ्जलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, धुलिखेलमा कार्यशाला हुने भएको हो।
पतंजलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, विश्व आयुर्वेद परिषद् र आयुष दर्पण फाउन्डेसनको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रम मर्म चिकित्सामा केँन्द्रित हुने कार्यक्रमका संयोजक डा.सुमन खनालले बताए।
उनका अनुसार कार्यक्रममा नेपाल तथा भारतका आयुर्वेद विज्ञ, चिकित्सक तथा विद्यार्थीहरूको सहभागितामा मर्म तालिम र अन्य आयुर्वेदका विषयमा सोधपत्रका साथै रिसर्चसमेत हुनेछ।
के हो मर्म चिकित्सा?
शरीरमा १ सय ७ वटा महत्वपूर्ण केन्द्र हुन्छन्। जसमा चोट पटक लागेमा मृत्युसम्मको जोखिम रहन्छ। त्यस बिन्दुलाई मर्म भनिन्छ। यस बिन्दुलाई दबाएर चिकित्सा गरिन्छ। जसबाट हाड जोर्नी, नसा रोगको सफल उपचार हुन्छ। जुन कुनै चमत्कार भन्दा कम हुँदैन। यस विधामा कम विज्ञ भएतापनि भारतमा यस पद्धतिको अभ्यास हुँदै आएको छ। तर, नेपालमा यसको अभ्यास शून्य जस्तै छ। त्यसैले यस कार्यक्रमको विशेष महत्व रहेको आयोजक समितिकी सचिव तथा केन्द्रिय आयुर्वेद चिकित्शालय, नरदेवीमा कार्यरत डा.कोपिला अधिकारी बताउँछिन्।
प्राचीन चिकित्सालाई कसरी अहिलेको अवस्थामा ढाल्न सकिन्छ भन्नेबारे विज्ञबीच छलफल पनि समारोहमा हुनेछ।