काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको आयोजनामा राष्ट्रिय परिवार योजना सम्मेलन चैत ४ र ५ गते हुने भएको छ।
‘पहुँचबाहिर परेकाहरुलाई समेट्ने’ उद्देश्यले राष्ट्रिय परिवार योजना सम्मेलन भोलि काठमाडौँमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र्र यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
नेपालमा परिवार नियोजनका साधन प्रयोग गर्नेहरुको संख्या केही वर्षदेखि स्थिर रहेपछि सरकारले सम्मेलन गरी पहुँच बाहिर रहेकालाई समेट्ने तयारी गरेको हो।
नेपालमा हाल ५३ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको तथ्यांक छ भने त्यसमा पनि आधुनिक साधन प्रयोग गर्ने ४३ प्रतिशत मात्र छन्।
उक्त सम्मेलनमा २४ ओटा पेपर प्रस्तुत हुने छ भने २८ वटा पोस्टर प्रस्तुति र चार प्लेनरी सत्र समावेश हुनेछन्। त्यस्तै देशभरबाट लगभग ४ सय जना सरोकारावालाको सहभागिता रहने महाशाखाले जनाएको छ।